एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका-१ वडा कार्यालय अगाडि सडकमा को.१ झ ४६९ नम्बरको एम्बुलेन्सले को.१९ प १९६८ नम्बरको मोटरसाइकललाई शनिबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय उमेश कुमार चौधरीको निध भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय प्रमोद सरदारको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले बताए । राईका अनुसार एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै झापाको दमक नगरपालिका-४ चियाबगानस्थित सडकमा बा.९ च ९६७३ नम्बरको कारको ठक्करबाट पैदलयात्रीको निधन भएको छ । मृतक पैदलयात्रीको पहिचान खुल्न बाँकी छ । मृतक अन्दाजी ४५ वर्षको पुरुष भएको बताइएको छ । शनिबार बेलुकी कारको ठक्करबाट गम्भीर घाइते भएका उनको दमक अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
कार चालकलाई प्रहरीको नियन्त्रणमा छन् भने मृतकको आफन्तको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


