एक वर्ष कसैले बाबुरामलाई झेलेर देखाओस् भन्ने प्रचण्ड अहिले किन लपक्कै ?

काठमाडौं – २०७२ मा संविधानसभाबाट संविधान जारी भएलगत्तै बाबुराम भट्टराईले एकाएक माओवादी पार्टी त्यागे । पार्टी त्यागेर उनी तराई मधेस गए । संविधानको विरोधमा तराईमा विरोध चलिरहेको थियो ।

उनी त्यसमा घिउ हाल्न धनुषा पुगे । मधेसको माग सम्बोधन नभएको असन्तुष्टि त्यहाँ व्याप्त थियो । बाबुराम त्यसलाई क्यास गर्न जनकपुर पुगेका थिए । झन्डै उनले त्यहीँ कुटाई खाएका थिए । सुरक्षाकर्मीले रोकेपछि उनी बालबाल बचेका थिए । बाबुरामले पार्टी त्यागेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘मैले बाबुरामलाई २५ वर्षसम्म कसरी झेलेर बसेको होला । कसैले उनलाई एक वर्ष झेलेर त देखाओस् ।’ त्यसपछि बाबुरामले नयाँ शक्ति पार्टी खोले ।

तर, त्यो पार्टी २०७४ को चुनावसम्म मात्रै क्रियाशील रह्यो । उनले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा विलय गराए । फरक पार्टीमा पुगेपछि बाबुरामले प्रचण्डलाई भ्रष्टाचारीदेखि अनेक लाञ्छना लगाए ।

कतिसम्म भने माओवादी लडाकू शिविरको पाँच अर्ब प्रचण्डकै निर्देशनमा भ्रष्टाचार भएको सार्वजनिक अभिव्यक्ति दिए । उनले आफू रातो स्टिकर भएको घरमा नफर्किने उदघोष गरे ।

बाबुरामले बुढीगण्डकी जलविद्युत परियोजनामा प्रचण्ड, जनार्दन शर्मालगायतले अर्बौं कमिसन खाएको गोरखा जिल्लामै पुगेर भाषण गरे । तर अहिले प्रचण्ड र बाबुराम एक भएका छन् । प्रचण्डले त अब आफू र बाबुरामलाई कसैले पनि फुटाउन नसक्ने दाबी गरे । केही समयपछि निर्वाचन हुँदैछ । बाबुरामले माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा उठ्ने भएका छन् ।

चुनावका बेला गोरखा २ बाट उठेमा बाबुरामले अब कसलाई गाली गरेर भोट माग्लान् भन्ने चासो सर्वत्र देखिएको छ । किनभने हिजोसम्म तिनै प्रचण्डलाई गाली गर्ने बाबुरामसँग अब त्यौ नैतिकता पनि रहने ।

यतिबेला प्रचण्डमाथि पनि व्यापक प्रश्न उब्जिएको छ । आफूलाई भ्रष्टाचारी करार गर्ने बाबुरामसँग किन लपक्कै टाँसिएको भन्ने प्रश्न उनीमाथि हुन थालेको छ । कतै आफूपछि बाबुरामलाई माओवादीको विरासत दिने प्रचण्डको भित्री रणनीति त होइन भन्ने अनुमान पनि गर्न थालिएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय