ओलीले नियुक्त गरेका प्रदेश पूर्वप्रमुखको कुकृत्य सार्वजनिक

कठमाडौं – आफूलाई केपी ओलीभन्दा पनि ठूलो राष्ट्रवादी भनाउने पत्रकार राजेश अहिराजको कुकृत्य सार्वजनिक भएको छ ।

मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश झा (अहिराज)ले धोबीखोला हडपेर घर बनाएको खुलेको छ । केहीअघिसम्म काठमाडौंको सामान्य डेरावाल रहेका अहिराजले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर रुद्रमती मार्ग धोबीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर घर बनाएको खुलेको हो । काठमाडौं महानगरपालिका वडा नम्बरको सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को दुई आना जग्गामा उनले दुई तले घर बनाएर भाडासमेत असुलिरहेको स्वास्थ्य लाइभ नामक न्युज पोर्टलले प्रमाणसहित सार्वजनिक गरेको छ ।

समाचारअनुसार उनले मासिक ५० हजारभन्दा बढी भाडा उक्त सार्वजनिक जग्गामा बनेको घर, कोठा र सटरबाट लिने गरेका छन् । जुन उनले स्वीकार पनि गरेका छन् । अहिराजले सार्वजनिक जग्गा हडपेर बनाएको दुईतले घरको भुईंतलामा पशुपति मोटरसाइकल वर्कसपलाई भाडामा लगाएका छन् । माथिल्लो तल क्लासी इन्जिनियरिङ सर्भिस प्रालिलगायतलाई भाडामा दिएका छन् ।

उनले आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको दाबीसमेत गरेका छन् । अहिराजले साढे पाँच तले भवन बनाएको कित्ता नम्बर ७३८–७३९ लगायतमा पनि साबिकको धोबीखोला देखाउँछ । उनले घर भएको जग्गा श्रीमतीको नाममा रहेको र मालपोतसमेत तिरिरहेको बताएका छन् ।

रौतहटका अहिराज तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ फागुन ७ गते मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०७८ भदौ १ गते उनी प्रदेश प्रमुखबाट बर्खास्त भएका थिए । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय