विवेकशील साझामा समीक्षा बास्कोटा अध्यक्ष प्रस्तावित, मिलन पाण्डे समूह बाहिरै

काठमाडौं । विवेकशील साझा पार्टीको नयाँ अध्यक्षमा समीक्षा बास्कोटालाई प्रस्तावित गरिएको छ । रविन्द्र मिश्रले राजीनामा दिएपछि खाली रहेको पदमा बास्कोटालाई प्रस्तावित गरिएको हो ।

आजै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा बास्कोटा र संयोजकमा सञ्जिवबल्लभ भट्टराईको नाममा सहमति जुटेको एक नेताले जानकारी दिए । बास्कोटा पूर्वअध्यक्ष रविन्द्र मिश्र निकट हुन् भने भट्टराई पार्टीभित्र जन्मेको नयाँ असन्तुष्ट समूहका हुन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने भएपछि नयाँ नेतृत्व चयन छिटो गर्न दबाब थियो । पूर्वअध्यक्ष मिश्रले आफ्नै नेतृत्वमा दल दर्ता गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका थिए । तर, मिश्रको समूह र असन्तुष्ट समूहबीच लेनदेन भएपछि तत्कालीक रूपमा समस्या समाधान भएको हो ।

अहिले भएको समझदारीमा पूर्वसंयोजक मिलन पाण्डे समूह भने संलग्न छैन । पाण्डेनिकट एक नेताले यो मिश्र समूहबीचकै आपसी समझदारी मात्र भएको बताए ।‘यो विचारभन्दा माथि देशका पक्षधरहरूबीचको समझदारी हो । हामी पार्टीको वैठकमा सहभागी हुँदैनौं,’ उनले भने ।

मिश्रले विचारभन्दा माथि देशको अवधारणा ल्याएपछि पाण्डे समूह असन्तुष्ट बनेको थियो । तर, पार्टीको दुईतिहाइ बहुमतबाट उक्त विचार पारित भयो । साथै पाण्डेलगायत उनको समूहका नेताहरूलाई कारबाही गरेर हटाइएको छ ।

पछि मिश्रले आफूखुसी राप्रपासँग एकता प्रयास अघि बढाएको र मनोमानी निर्णयहरू लिएको भन्दै अर्को असन्तुष्ट समूह जन्मिएको थियो । यो समूहको नेतृत्व निर्देश सिलवालले गरेका थिए । सिलवाल पक्ष अहिले बास्कोटालाई अध्यक्ष स्वीकारेर जान तयार देखिएको छ ।

अर्कोतर्फ अध्यक्ष मिश्रले अहिले राजसंस्थाकै वकालत गर्न थालेपछि यस विषयमा पनि पार्टीभित्र मतैक्य बन्न सकेको छैन । बास्कोटा लगायतका नेताहरू मिश्रकै लाइनमा जानुपर्ने पक्षमा छन् । सिलवाल पक्ष भने संघीयताको खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा सहमत भए पनि राजतन्त्रको एजेन्डा स्वीकार्न तयार छैनन् । वैचारिक मतभेदलाई थाती राखेर अहिले नेतृत्वको विषयमा भने उनीहरू समझदारीमा आएका हुन् ।

यो समझदारी अनुसार पार्टीको कार्यसमिति बैठकले निर्णय गरेमा विवेकशील साझामा बास्कोटा अध्यक्ष चुनिनेछिन् । उनी हालै भएको स्थानीय चुनावमा काठमाडौं महानगरबाट मेयरमा उठेर पराजित भएकी थिइन् । शैक्षिक स्तर र क्षमताको हिसाबले भने उनी अब्बल नेतृ मानिन्छिन् ।

यता पूर्वसंयोजक पाण्डे भने आफ्नै तयारीमा छन् । उनले आजै सामाजिक सञ्जालमा स्टाटस लेख्दै पार्टीलाई पुनर्गठन गर्ने बताएका छन् । मिश्रपक्षधरलाई समेत समेटेर आफ्नो नेतृत्वमा पार्टी अघि बढाउने उनको योजना छ । तर, वैचारिक हिसाबले भने दूरी बढिहरेको छ । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय