यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

काठमाडौं – गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले बनाएको घोषणापत्रले प्रशंसा समेत पाएको थियो । तथापि ८८ पृष्ठको चुनावी घोषणापत्रमा १९ पृष्ठ एमाले र ओलीको आलोचनामा केन्द्रित थियो ।

ओलीका विरुद्धमा कांग्रेसले संघीयता विरोधी, नियन्त्रणकारी, संवैधानिक निकायमा हस्तक्षेपकारी, जमिनको भू–माफियाकरण, उत्ताउलो घोषणाको विकासकर्ता जस्ता शब्द प्रयोग गरेको थियो । चुनाव जित्नकै लागि गठबन्धन नबनेको बुझाउनुपर्ने चुनौती कांग्रेससामू छ । ‘सँगै किन उभिएका छौं भन्ने उत्तरमा चुनाव जित्नका लागि भन्यौं भने त चरम अवसरवाद हुन्छ’, महामन्त्री गगन थापा भन्छन् ।

तर आलोचना र गालीले मात्रै मत पाउने अवस्था नरहेको निष्कर्षमा कांग्रेस नेताहरु पुगेका छन् । महामन्त्री विश्वप्रकाश शर्मा पनि भूत प्रभावी नभई भविष्यमुखी मुद्धा सहित निर्वाचनमा जाने बताउँछन् ।

स्थानीय निर्वाचनमा कांग्रेसले ओली नेतृत्वको सरकारले तीन वर्षसम्म कुनै काम गर्न नसकेको भन्दै ‘खेर गएको तीन वर्ष’ नारा नै बनाएको थियो । अर्थात् उसको चुनावी मुद्दा विगततिर फर्केको थियो । तालमेलको बलमा कांग्रेस पहिलो दल बन्न सफल पनि रह्यो ।

तर संघ र प्रदेशको चुनावमा पनि स्थानीय तहको निर्वाचनमा जस्तै मुद्दा लिएर मत माग्ने पक्षमा कांग्रेस छैन । ‘केपी ओलीकै कामको परिणामले गठबन्धन बन्यो । अब राष्ट्रिय निर्वाचनमा जाँदा ओलीले यसोरउसो गरे होइन, हामी के गर्छौं भनी जानुपर्छ’, महामन्त्री शर्मा भन्छन्, ‘पाँच वर्षमा के के गर्छौं, हामीले डेलिभरी क्षमता कसरी बढाउँछौं, यही भनेर अब चुनावमा जाने हो ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान सरकार बनेको मुद्धालाई भने कांग्रेस स्थापित गराउन चाहेको छ । तर, गठबन्धन के का लागि, भन्ने प्रश्न कांग्रेसले निर्वाचनमा झेल्नुपर्नेछ । चुनाव जित्नकै लागि गठबन्धन नबनेको बुझाउनुपर्ने चुनौती कांग्रेससामू छ । ‘सँगै किन उभिएका छौं भन्ने उत्तरमा चुनाव जित्नका लागि भन्यौं भने त चरम अवसरवाद हुन्छ’, महामन्त्री गगन थापा भन्छन्, ।

गठबन्धनको औचित्य पुष्टि गर्नका लागि सत्ताघटक दलबीच साझा कार्यक्रम बनाएर जानुपर्ने थापाको तर्क छ । कांग्रेसमा पटक पटक सांसद र मन्त्री भएका अधिकांश नेताहरु परीक्षण भइसकेका छन् । कांग्रेसलाई आउने चुनावमा आफ्ना नेतामाथि विश्वास जुटाउनुपर्ने चुनौती पनि छ । ‘कमजोरी सुधार्छु पनि भन्न सक्नुपर्‍यो । कमजोरीलाई दोहोर्‍याउँदैनौं भन्ने प्रतिवद्धता हुनुपर्‍यो’, नेता प्रदीप पौडेल भन्छन् ।

नेताहरुका अनुसार सुशासन, जनअपेक्षा अनुसारको कार्यसम्पादन, भ्रष्टाचार नियन्त्रण, संविधान र लोकतन्त्रको रक्षा, सन्तुलित वैदेशिक सम्बन्ध, संघीयताको सुदृढीकरण, रोजगारीका अवसर सिर्जना लगायतका विषय कांग्रेसका चुनावी मूल मुद्धा हुनेछन् ।

राजनीति विश्लेषक गेजा शर्मा वाग्ले प्रतिपक्षी दललाई गाली र इतिहासको कुरा मात्रै गरेर कांग्रेसलाई चुनावमा जाने सुविधा नभएको बताउँछन् । ‘पाँच वर्षे भिजन, मिसन र नीति कार्यक्रमसहितको स्पष्ट खाकासहित जनता समक्ष जानुपर्दछ’, वाग्लेले भने, ‘घोषणापत्र अमूर्त नभई समय तालिकासहित ठोस नीति र कार्यक्रम तय गर्नुपर्छ ।’- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय