किन गरिन झाँक्रीले आकस्मिक प्रेसमिट: ?

काठमाडौं । पछिल्लो समय आफ्नै पार्टीको नेतृत्वसँग असन्तुष्ट नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले आज आकस्मिक पत्रकार सम्मेलन डाकिन् ।

धेरैले आशंका गरे, कतै पार्टी सचिवको पदबाट राजीनामा घोषणा गर्न लागेकी त होइनन् ? यसअघि मन्त्रीबाट राजीनामा दिँदा धुरुधुरु रोएर भाइरल भएकी थिइन् झाँक्री । हाल उनी आफूलाई शहरी विकासमन्त्रीमा प्रतिस्थापन गरेका मेटमणि चौधरीसँग वाकयुद्धमा छिन् ।

पत्रकार सम्मेलन डाक्नुअघि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन् र पार्टी अध्यक्ष माधवकुमार नेपालले रौतहटमा शिलान्यास गरेका आयोजनाहरुमाथि आफूले उठाएको प्रश्नमा अडान लिएकी थिइन् । कुनै पनि प्रक्रिया पूरा नगरिकन अध्यक्षबाट हतारमा योजना शिलान्यास गराइएको उनको आरोप छ ।

तर, आज आयोजित पत्रकार सम्मेलनमा भने नेतृ झाँक्रीबाट पत्रकारले कुनै ‘मसला’ पाउन सकेनन् । उनी राजनीतिक प्रश्नबाट पूरै तर्किइन् । पत्रकार सम्मेलनको सुरुमै उनले आफूलाई राजनीतिक प्रश्न नसोध्न आग्रह गरेकी थिइन् । अनि, बीच-बीचमा आफूलाई विवादित नबनाइदिन पनि उनको अनुरोध थियो ।

प्रेस मिट सुरु हुनुअघि उनी ठट्यौलो मुद्रामा पत्रकारसँग पेश भएकी थिइन् । पत्रकारहरुले तेर्स्याएको माइक मिलाउँदै उनले भनिन्, ‘राजनीति नगरेको भए यही मिलाइरहेको हुन्थेँ होला । ट्राइपोड बोक्न रमाइलो लाग्थ्यो ।’ त्यसपछि आफ्नै कपाल भुत्ल्याउँदै भनिन्, ‘म त मेकअप पनि आधी गरेर हिँडेको छु, हतार भएर ।’

खासमा आजको पत्रकार सम्मेलन नेपाल पूर्वाधार पत्रकार समाजले आयोजना गरेको थियो । छोटो सूचनामा पनि पत्रकारहरु उल्लेख्य संख्यामा उपस्थित भएका थिए । झाँक्रीले बोल्नुपुर्व पत्रकार समाजका व्यक्तिले पत्रकार सम्मेलनको उद्देश्य प्रष्ट्याए ।

उनले मन्त्री झाँक्रीले आफ्नो कार्याकालमा गज्जबको काम गरेको सन्दर्भ कोट्याउँदै ७०.१३  प्रतिशत सफलता हासिल भएको सुनाए । त्यसपछि झाँक्रीले सम्बोधन सुरु गरिन् ।

आफ्नो सम्बोधनको सुरुमा झाँक्रीले सञ्चारमाध्यममा राजनीतिक समाचारहरु प्रशस्तै फलोअप हुने गरेको तर पूर्वाधारसँग सम्बन्धित समाचारहरुको फलोअप राम्रो नहुने गरेको गुनासो गरिन् । आफू मन्त्री बन्दा सुरु गरेका कामहरुको फलोअप गरिदिनुपर्यो भन्ने उनको मुख्य आशय देखियो । ‘पूर्वाधारका इस्यूहरु एकदमै कम फलोअप भएको देखिन्छ । शहरी पूर्वाधारभित्र यति धेरै इस्यूहरु छन् । तर, फलोअप भएको छैन’, उनले भनिन् ।

पत्रकार सम्मेलनभरि उनले शहरी पूर्वाधारसँग सम्बन्धित सैद्धान्तिक विषयहरुमा कुराकानी गरिन् । पूर्वाधार विकासका कामहरुलाई कसरी प्रभावकारी तुल्याउन सकिन्छ भन्ने आफ्नो अवधारणा उनले प्रस्तुत गरिन् । आयोजनाको छनोट, तयारी तथा प्रक्रियागत कुराहरुमा राम्रो ध्यान नदिइनाले धेरै आयोजनाहरु विफल हुने गरेको झाँक्रीको टिप्पणी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय