कांग्रेसले करिब ९० सिट पाउने, यसरी हुँदैछ सिट बाँडफाँड

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न पार्टीको बैठक बोलाएका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने सहमति गरेका देउवाले सिट बाँडफाँटमा पार्टीले कसरी, कुन आधारमा कति सिट लिने भन्ने टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरु पनि सहभागी हुनेछन् । बैठकमा गठबन्धनमा सिट बाँडफाँट गर्न बनेको कार्यदलमा सदस्य रहेका नेताहरुसमेत सहभागी हुनेछन् ।

कार्यदलको बैठक पनि सोमबारै बस्दैछ । पार्टीको बैठकमा छलफल भएपछि गठबन्धनमा कसरी प्रस्तुत हुने भनेर टुंगो लाग्ने नेताहरुको भनाइ छ । कांग्रेसले असार अन्तिम साता बसेको केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।

‘१६५ सिटमा कांग्रेसमा ९५ सिट लिनुपर्ने दबाब तीव्र छ । रामचन्द्र पौडेलदेखि शेखर कोइराला, शशांक कोइराला सबैले करिब करिब सय सिटमा भागबन्डा लगाउनुपर्ने बताउँदै आएका छन् ।

तर, लोसपा पनि अहिलेको गठबन्धनमा सामेल भएमा कम्तीमा ९० सिटमा भागबन्डा टुंग्याउन सकिने कांग्रेस नेताहरूको भनाइ छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले पनि ९० सिट लिन सकिने बताइसकेका छन् ।

प्रदेश सभामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राजमोलाई बढी सिट दिएर प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई धेरै सिटमा भागबन्डा मिलाउन सकिने विकल्पबारे पनि आजको बैठकमा छलफल हुने भएको छ ।

यदि त्यसो भएमा संघ सरकार कांग्रेसको नेतृत्वमा र प्रदेशमा अन्य दलको सरकार पाँच वर्षसम्म चलाउन सकिने सम्भावना धेरै छ । हाल पाँचदलीय गठबन्धनका प्रत्यक्ष सांसद ८० जना छन् ।

कांग्रेसले २३ र माओवादीले ३६ सिटमा प्रत्यक्षतर्फ जितेका थिए । माओवादीका ३६ जनामध्ये चार जना एमालेमा प्रवेश गरेका छन् । सत्ता गठनबन्धनमा रहेका एकीकृत समाजवादीसँग १२, जनता समाजवादी पार्टीसँग १३ र राष्ट्रिय जनमोर्चासँग १ जना प्रत्यक्षतर्फ जितेका सांसद छन् ।

प्रत्यक्षतर्फ ९ सिट रहेको लोकतान्त्रिक समाजवादी पार्टीसमेत सत्ता गठबन्धनमै आउने प्रयासमा छ । लोसपासमेत गठबन्धनमा आए ८९ सिट पुग्छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय