काठमाडौं । एमाले नेता एवं गण्डकी प्रदेशका तत्कालीन मन्त्री रामशरण बस्नेतले दरौंदी नदीमाथि बनेको पुलका विषयमा अनावश्यक चर्चा र आलोचना भएको बताएका छन् ।
बाटो नभएको ठाउँमा पाँच करोडको पक्की पुल बनाएपछि बस्नेत अहिले आलोचित भइरहेका छन् । उनले आफ्नो बाबुको नाममा रहेको जग्गाकै छेउमा मोटरेबल पुल बनाएको स्वीकारेका छन् । उनले आफ्नो नाममा भने जग्गा नभएको दाबीसमेत गरेका छन् ।
दरौंदी नदीमाथि बनेको पुलको एकातर्फ पहरा देखिन्छ भने अर्कोतर्फ धान खेत रहेकाले सबैले आफ्नो आलोचना गरेको उनको भनाइ छ । गोरखा नगरपालिकाको नारेश्वर र सिरानचोक गाउँपालिकाको जरेबर जोड्न बनाइएको पुललाई मोटर बाटोले छोएको छैन। मन्त्री भएकै बेला बस्नेतले पुल निर्माण गर्न स्वीकृति दिएका थिए ।
गण्डकी सरकार मातहत पूर्वाधार विकास कार्यालय गोरखाले बनाएको उक्त पुल अझै निर्माण सकिएको छैन। २०७७ जेठमा दुई वर्षभित्र सक्ने गरी पाँच करोड ३९ लाख ८० हजार रुपैयाँमा उक्त पुल बनाउन ठेक्का सम्झौता भएको थियो। पुल बनाउने ठेक्का पाएको हिन्दुम एण्ड ठोकर कन्स्ट्रक्सन, गोसाइँकुण्ड र आइएसएनएस निर्माण कम्पनीले जोइन्ट भेन्चरमा ठेक्का पाएका थिए।
पुलपारि पहरा देखिएको ठाउँमा दुई सय मिटर बाटो बनाउन बाँकी छ भने वारि धानखेततर्फ सय मिटर बाँकी छ। स्थानीयवासीले धानखेत मासेर सडक बनाउन रोक लगाउँदा पुल अलपत्र परेको बताएका छन्।
धानखेत मास्न नदिने किसानको अडानले पुलसम्म पुग्ने मोटर बाटोको ट्रयाक खोल्न बाँकी छ। बजेट सक्न र आफ्नो परिवारको नाममा रहेको जग्गाको भाउ बढाउनकै लागि बस्नेतले दरौंदी नदीमाथि बाटो नभए पनि पुल बनाउन लागेको भन्दै उनको आलोचना भइरहेको छ ।


