पहिरोका कारण एकै परिवारका ५ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ।

मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए। ‘पहिरोबाट निकालिएको छ, मृतक सबै एकै परिवारका हुन्, बिहान दुईजनाको शव भेटिएको थियो, अहिले तीनजनाको भेटिएको छ’‚ वडा सदस्य पुनले भने।

खोज तथा उद्धारमा बिहानैदेखि खटिए पनि भीषण वर्षा र निरन्तरको पहिरोले उद्धारमा समस्या भएको थियो। पहिरोमा पुरिएको अवस्थामा बिहान नवीन र रुजन विकको शव निकालेको थियो भने घामबहादुर विक, राजु विक र रोजी विकको शव समेत निकाली कानुनी प्रक्रियाको काम भइरहेको छ।

बेपत्ता भएका उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीय बासिन्दा घटनास्थल पुगेका थिए।

बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक घाइते भएका थिए। पहिरो स्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाइते अवस्थामा भेटिएका थिए। ‘घरका सबै निद्रामा भाग्दाभाग्दै पहिरोमा परे, एकैपटक आएर घर पुरियो’‚ घाइतेको भनाइ उद्धृत गर्दै वडा सदस्य भक्तिबहादुर घर्तीले भने।

घाइतेको रुम स्वास्थ्य चौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको छ। पहिरोमा परेर ज्यान गुमाउनेप्रति मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले दुःख व्यक्त गरेका छन् भने घाइतेको उपचार र मृतकको परिवारलाई समेत राहत उपलब्ध गराउने बताए। यसैबीच बाढीपहिरोको जोखिममा रहेकालाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरिएको छ। – धु्रवसागर शर्मा, म्याग्दी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय