कुनै पनि बेला प्रमाण सार्वजनिक हुने भयले राजीनामाको मनस्थितिमा जनार्दन शर्मा

काठमाडौं – आरोप लागेको २५ दिनपछि अर्थमन्त्रीका रूपमा जनार्दन शर्मा आइतबार मन्त्रालय पुगेर स्वागतको माला थापे । स्वागतको माला लगाउनेमा यसपटक राजश्वसचिव कृष्णहरि पुस्कर मात्रै थिए ।

अर्थ सचिव मधु मरासिनी गएनन् । उनी शनिबार नै पोखरा गएका थिए । अर्थमन्त्रीका रूपमा शर्मा विवादित बन्दै गएपछि मरासिनी घर बिदामा बसेका थिए । शर्माले राजीनामा दिएलगत्तै उनी पुनः मन्त्रालयमा हाजिर भए । तर आइतबार मन्त्रीको स्वागतमा देखिएनन् । फेरि अर्थमन्त्री बनेर मन्त्रालय जाँदा शर्माको मुहार हँसिलो थिएन ।

लोकलाजकै लागि भए पनि उनी फिस्स हाँस्थे । जुन अभियोग लागेर आफूले राजीनामा दिएका थिए त्यसबारेमा शर्माले केही बोलेनन् । उनले औपचारिकताका लागि मन्त्रालयका कर्मचारीले तयार पारेको एउटा फाइल सदर गरेका थिए ।

पुनः अर्थमन्त्री बनेपछि बधाई दिन फोन गर्ने र भेट्ने कतिपय व्यापारिक घरानाका व्यक्तिहरूसँग उनले आफू बढीमा एक सातामात्र अर्थ मन्त्रालययमा रहने बताउने गरेको बुझिएको छ ।

राजनीतिक इगोकै कारण शर्मा ठूलो शक्ति लगाएर मन्त्रीमा पुनः नियुक्त भएको स्रोतले बतायो । शर्मालाई अर्थमन्त्री बनाउन नहुने विषयमा माओवादीमै पनि दुईथरी मत रहेको बुझिएको छ ।

शक्ति बस्नेतलगायतले शर्मालाई अर्थमन्त्री नबनाउन प्रचण्डलाई दबाब दिँदै आए पनि उनको सुझावको कुनै सुनुवाइ भएन । विपक्षी दलले चुनावका बेला सिसिटिभी फुटेजसहित विभिन्न प्रमाण सार्वजनिक गर्नसक्ने भन्दै त्यसले चुनावमा ठूलो घाटा बेहोर्नुपर्ने उनको भनाइ थियो । त्यसैले शर्माले चाँडै राजीनामा दिन सक्ने अनुमान गरिएको हो । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय