एक थरि लुटेरालाई छुटाउन अर्को लुटपाट !

काठमाडौं । चाबहिलको सरस्वती नगरमा ५४ वर्षीय महिलालाई बाँधेर लुटपाट गरिएको घटनामा संलग्न चार जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर र प्रहरी वृत्त, गौशालाको संयुक्त टोलीले घटनामा संलग्न जोरपाटीका भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका कल्याणकुमार सुवेदी, कविर कुँवर र उत्तम तामाङलाई पक्राउ गरेको हो । गौशालाका प्रहरीका डीएसपी केशव भट्टराईले उनहिरुलाई उपत्यकाका विभिन्न ठाउँबाट खोजतलास गरेर पक्राउ गरिएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार घटना गत आइतबारको हो । सुनभागा टोल नजिक बस्ने ती महिलालाई उनीहरूको समूहले कुटपिट गरेर लगाएको सुरुवालसमेत खोलेर त्यसैले बाँधेर लुटपाट गरेको थियो । उनका साथबाट कानको बाला, सुनको सिक्री, घडी, मोबाइल र नगदसमेत लुटिएको थियो । घटनापछि उनले प्रहरी कहाँ जाहेरी दिएकी थिइन् । त्यसक्रममा चोरीको सामान खरिद गर्ने व्यक्ति पनि पक्राउ परेका छन् ।

पक्राउ गरेपछि बयान दिँदै घटनाका मुख्य योजनाकार तामाङले आफ्नो ज्वाइँसहित तीनजनाको टोली बौद्धमा पक्राउ परेकाले उनीहरूलाई छुटाउन लुटपाट गरेको बयान दिएका छन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ज्वाइँको टोली पनि लुटपाटमै संलग्न रहेछ, उनीहरूलाई अदालती प्रक्रिया र हिरासतमा रहँदा खानपिनका लागि पैसा जोहो गर्नुपर्ने भएकाले लुटेको बयान दिएका छन् ।’

उनका ज्वाइँ र उनीहरू सबैविरूद्ध प्रहरी अहिले अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइरहेको छ । थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले बताए । – अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय