अर्थमन्त्रालयमा जनार्दनको कमब्याक तयारी- प्रतिष्ठाको वहाना, बालुवाटारको चाहना

काठमाडौं । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई अर्थमन्त्रालयमा फर्काउने तयारी भएको छ ।संसदीय विशेष छानविन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किनकै लागि पुल्चोकस्थित मन्त्री क्वार्टर समेत छाडेका छैनन् ।

राजीनामापछि पनि अर्थमन्त्री अर्को नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि उनैलाई फर्काउने पूर्व समझदारी अनुरुप नै रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री शर्मालाई विशेषगरी प्रधानमन्त्री पत्नी आरजु देउवाले रुचाएका कारण उनी फर्किने पहिले नै तय थियो ।

प्रधानमन्त्री निकट एक कांग्रेस नेताले भने–बालुवाटारले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै रुचाएको छ । काम गर्न सजिलो मान्छे भन्ने परेको छ । नीतिगत निर्णयमा अरुभन्दा जनार्दन शर्माले नडराई काम गर्ने गरेका कारण बालुवाटारले उनलाई रुचाएको हो ।

स्रोतका अनुसार संसदीय छानविन समितिमा रहेका सत्तापक्षका सांसदहरुलाई अर्थमन्त्रीलाई दोषी साबित नगर्न ह्वीप लगाइएपछि अहिलेको जस्तो असहमतिको रिपोर्ट आउने निश्चित भइसकेको थियो । समितिले प्रतिवेदन बनाउनुभन्दा अघि शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर आफू दुई दिन भनेपनि अर्थमन्त्रालय फर्किने बताएका थिए ।

स्रोतले भन्यो–दुई चार दिनमात्र भने पनि अर्थमन्त्रालय फर्किएर बरु त्यसपछि राजीनामा गर्छु । तर छानविनबाट निर्दोष साबित भएर मन्त्रालय फर्किन पाउनुपर्छ भनेर उहाँले अध्यक्षलाई भनेको सुनियो । सायद पिएम र सिएमबीच कुरा भइसकेको होला ।

शर्मालाई आइतबार वा सोमबारसम्म अर्थमन्त्रीमा पुनः समथग्रहण गराउने सम्भावना रहेको माओवादी नेताहरुले बताएका छन् । शर्माले चाहेमा अब अर्थमन्त्री बन्नका लागि बाटो खुलेको माओवादीकै नेता वर्षमान पुनले शुक्रबार नै संसद भवनमा बताएका थिए । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय