सडक अलपत्र पार्ने ठेकेदारलाई ताकेता, ठेक्का रद्दकाे चेतावनी

रुपन्देही । बुटवलको सडक निर्माणको ठेक्का लिएर लामो समय अलपत्र पारेको विरुवा कन्टक्सन प्रालिको ठेक्का रद्द गर्नका लागि सडक आयोजनाले प्रकृया सुरु गरेको छ ।

निर्माण सम्झौता भएको ६ बर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएको र ठेकेदारले पुनः म्याद थप्ने विषयमा चलखेल गरेको समाचार नेपाल प्रेससहितका संचारमाध्यममा पटक पटक प्रकाशन भएपछि सडक आयोजनालाई उक्त ठेकेदारसँग आयोजना रद्द गर्न दवाव परेको थियो ।

बेलहिया बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता अन्त्य गर्न प्रक्रिया सुरु गर्दै पत्रचार गरेको छ । शुक्रबार सूचना प्रकाशित गर्दै व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले ठेक्का लगाएका कार्यको न्यून कार्य प्रगति भएको, म्याद समाप्त भएका रबाह्य समस्याविना लामो समयसम्म निर्माणको कार्य रोकेको भन्दै ठेक्का सम्झौता अन्त्य किन नगर्ने भन्दै सूचना प्रकाशित गरेको हो ।

आयोजनाका सूचना अधिकारी सविता ज्ञवालीले ठेकेदार कम्पनीलाई निर्माण कार्य अगाडि बढाउन विभिन्न मितिमा लिखित र मौखिक ताकेता गर्दासमेत सन्तोषजन कार्य प्रगति नभएको भन्दै सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिक ठेक्का किन अन्त्य नगर्ने भन्दै सूचना प्रकाशित गरेको जनाएकी छन् ।

उनले ठेक्का सम्झौता अन्त्य गर्न नपर्ने कुनै मानासिव कारण भए ७ दिनभित्र भरपर्दो स्पष्टिकरणसहित आयोजनाको कार्यालयमा उपस्थित हुन भनिएको बताइन् । उनले स्पष्टिकरण चित्तबुझ्दो नभएमा ठेक्का सम्झौताका शर्त र सिओसी तथा प्रचलित ऐन नियमअनुसार कानुन कारबाही अगाडि बढाउने बताएकी छन् ।

आयोजनाले ३ वटा ठेक्का तोड्ने गरी प्रक्रिया सुरु गरेको छ । विरुवा कन्टक्सन प्रा.लि मृत बानेश्वर काठमाडौंले लिएको ठेक्का नं. टिआरआईपी÷३३७३१२४/विवि/०७३/०७४–००१, विरुवा–श्रेष्ठ–एपेक्स जे.भी काठमाडौंको ठेक्का नं. टिआरआईपी/३३७३१२४/विवि ०७१–०७२–००२ र द कञ्चनजंगा–विरुवा जेभी, मृत बानेश्वर काठमाण्डौले ठेक्का पाएको ठेक्का नं. टिआरआईपी-३३७३१२४-विवि ०७३-०७४–००३ तोड्ने गरी प्रक्रिया अघि बढाएको हो । यी तीन वटा ठेक्का बेलहिया, पडसरी र बुटवलका हुन् ।

तर आयोजनाले ठेकेदारलाई म्याद थप गर्नका लागि यो बाटो अपनाएको भन्दै आशंकासमेत गरिएको छ । असार ३० गते म्याद सकिएको ठेकेदार कम्पनीलाई आयोजनाले भदौ १५ गतेसम्म निश्चित काम सक्न लिखित सम्झौता गरेको यसअघि नै प्रकाशनमा आएकाले अब कसरी प्रकृया अगाडि बढ्छ भन्नेमै प्रश्न खडा भएको स्थानीय दिपक पन्थीले बताए ।

राजनीतिक दलका नेताको आड पाएका ठेकेदारलाई उच्चपदका कर्मचारीको समेत बलियो साथ भएकाले पटक पटक म्याद थपिएको युवानेता देवराज पोखरेलले बताएका छन् । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय