गुल्मीमा कोरोना संक्रमण दर बढ्दो , परीक्षण प्रयोगशाला बन्द

गुल्मीः गुल्मीमा दैनिक रुपमा कोरोनाको संक्रमण बढ्दो क्रममा छ । तर गुल्मीमै रहेको कोरोना परीक्षण प्रयोगशाला भने बन्द छ ।

विगतमा जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर जनतन चलाएको कोरोना परीक्षण प्रयोगशाला आर्थिक अभाबका कारण विगत एक बर्षदेखी बन्द रहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

अहिलेकै अवस्थामा कोरोना परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने उनको भनाई छ । परीक्षण प्रयोगशाला संचालनका लागि लागत र जनशक्ति बढी लाग्ने भएकाले संचालन गर्नमा कठिन रहेको पच्याकोे दाबी छ ।

परीक्षण प्रयोगशाला संचालन गर्न नसकिने भएकाले त्यसको विकल्पमा एन्टिजेन परीक्षण नै उत्तम भएको पच्याले बताए । छिटो ,छरितो र सरल तरिकाले एन्टिजेन परीक्षण गर्न सकिने , बढी समय पनि नलाग्ने र भरपर्दो भएको पच्याले दाबी गरे ।

केन्द्रिय स्तरमा गुल्मेली शक्तिशाली नेताहरु प्रदीपकुमार ज्ञवाली,चन्द्रभण्डारी, सुदर्शन बराल , गोकर्णराज बिष्ट र रामकुमारी झाँक्रीको जिल्लामा कोरोना परीक्षण प्रयोगशालाले स्थायीत्व नपाउनु दुःखद भएको गुल्मेलीहरुले बताउँदै आएका छन् ।

जिल्लामा रहेको सम्पतीको संरक्षण र संचालन गर्नु सबैको दायित्व भएकाले जिम्मेबारीबाट कोही पनि पन्छिन नहुने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

गुल्मी अस्पताललाई मात्रै भार बोकाउन नहुने भन्दै यहाँका स्थानीय तह , प्रदेश र संघ सबैको सहयोगले परीक्षण प्रयोगशाला संचालनमा ल्याउनुपर्नेमा पाण्डेले जोड दिए । दीर्घकालिन सोचका साथ काम नगर्दा र योजना नवनाउदा समस्या आउने गरेको पाण्डेको भनाई छ ।

जिल्लामा अहिले सक्रिय संकमितको संख्या ४९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

संक्रमणका कारण जिल्लामा २८८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिए । कोरोना परीक्षण प्रयोगशालाको तत्कालिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका थिए ।

परीक्षण प्रयोगशालाको भवनमा वडा कार्यालय बस्ने तयारी यता कोरोना परीक्षण प्रयोगशाला बन्द भएपछि रेसुङगा नगरपालिकावडा नम्वर ९ को कार्यालय बस्ने तयारी गरेको वडा अध्यक्ष कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

परीक्षण प्रयोगशाला पनि बन्द भएको र वडा कार्यालय भाडामा बस्नुभन्दा सो कार्यालयमा बस्नु नै उत्तम हुने उनको भनाई छ । परीक्षण प्रयोगशाला रहेको भवनको माथिल्लो तलामा बस्ने गरी तयारी गरेको र सरसफाइको काम भइरहेको पाण्डेले बताए ।

बिस्तारै सो भवनलाई नगरपालिकाको कुनै शाखा राख्ने र सेवा प्रवाह गर्ने सोचमा आफूहरु रहेको पाण्डेले दाबी गरे । सो भवन तत्कालिन महिला तथा बालबालिका कार्यालयको भवन रहेको थियो । सो कार्यालय बन्दै गर्दा २०७५ सालमा जिल्ला महिला तथा बालबालिका कार्यालय नै खारेज भएको थियो ।

अहिले महिला तथा बालबालिका सम्बन्धी कार्य स्थानीय तहको महिला तथा बालिबालिका शाखाबाट प्रदान गर्दै आएको रेसुङगा नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना पाण्डेले जानकारी दिइन् ।- खबर मार्केट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय