प्रचण्ड–माधव रणनीतिः सके वाम गठबन्धन गर्ने, नसके मात्र कांग्रेससँग तालमेल गर्ने

काठमाडौं – आगामी संघ र प्रदेशको निर्वाचनमा सत्तारूढ दलहरूबीच तालमेल हुने नहुने विषय टुंगिन नसक्दा आजसम्म पनि चुनावको मिति घोषणा गर्न सकिएको छैन ।

जबकि कुनै पनि निर्वाचन गराउन निर्वाचन आयोगलाई एक सय २० दिनको समय आवश्यक पर्छ । तर, विस्तारै समय घर्किँदैछ । संसदीय गणितलाई समेत विचार गर्दै सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलहरू आ–आफ्ना रणनीति बनाउन व्यस्त छन् ।

नेपाली कांग्रेस गठबन्धन गरेर सकेसम्म बहुमत ल्याउने नत्र पहिलो पार्टी बनेर आउँदो पाँच वर्षको सत्तामा बस्न चाहन्छ । कांग्रेसमा पनि गठबन्धन गर्न हुने र नहुने गरी दुईथरी मत छ ।

खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वार्थका कारण कांग्रेसलाई चुनावमा घात हुने संकेत देखिँदैछ ।

यो मोर्चामा वामदेव गौैतम र बाबुराम भट्टराई पनि थपिने भएका छन् । उनीहरू समाजवादी केन्द्रको नाममा मोर्चा बनाएर कांग्रेसलाई तह लगाउने रणनीतिमा लागेका छन् । कांग्रेस र एमालेलाई एउटै-एउटै आकारमा ल्याएर सरकार बनाउन आफ्नो निर्णायक र अपरिहार्य भूमिका हुने स्थिति बनाउनेमा माओवादी केन्द्रित छ ।

मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच हुने भएकाले दुवै दल मिलेर सरकार बनाउने सम्भावना नगण्य जस्तै हुन्छ । त्यसैले नयाँ सरकार निर्माणका लागि एमाले र कांग्रेससँग तालमेल गरी आफ्नो निर्णायक भूमिका बनाउने माओवादीको चाहना छ ।

अर्कोतिर वाम गठबन्धनको चर्चा चले पनि प्रमुख शक्ति एमालेसँगको दूरी अपेक्षित ढंगले घट्न सकेको छैन । त्यसैले आगामी दिनमा के-कस्तो समीकरण बन्ने हो कुनै निश्चित हुन सकेको छैन । सबै दलहरू एक(अर्कालाई पर्ख र हेरको रणनीतिमा छन् ।

एमाले अहिलेको गठबन्धन जसरी पनि टुटाउने रणनीतिमा लागेको छ । त्यसका लागि उसले हरेक हथकण्डा अपनाइरहेको छ । यसमा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सकुनीको भूमिका खेलिरहेका छन् ।

उनले चुनावका लागि आफूहरूको पहिलो प्राथमिकता वाम गठबन्धन भएको बताएका छन् । ‘हामी वामपन्थी र समाजवादीहरूलाई एक ठाउँमा ल्याउने क्रममा छौँ ।

कार्यगत एकता हुन्छ कि मोर्चा बन्छ कि,’ आइतबार संसद् बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै खनालले भने, ‘विभिन्न कोणबाट छलफल भइरहेका छन् । हामी टुंगोमा पुगिसकेका छैनौँ ।’

उनले वाम गठबन्धन नहुँदा मात्रै नेपाली कांग्रेससँग गठबन्धन गरिने बताए । वाम गठबन्धनका लागि एमालेसँग पनि कुरा भइरहेको खनालको भनाइ छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरमा हुने संसदीय निर्वाचनमा देशभरि समाजवादी मोर्चाका उम्मेदवार हुने बताएका छन् ।

आइतबार दिउँसो बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पुनले समाजवादी केन्द्र बनाउने विषयमा सैद्धान्तिक सहमति भइसकेको बताए । ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौँ ।

१६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने हाम्रो तयारी छ । कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ ।’ अहिले मोर्चा बने पनि कसैसँग चुनावअघि पार्टी एकता हुने सम्भावना भने नरहेको उनले बताए । समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने पुनको दाबी छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय