काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर दुई पार्टीबीच एकता भएको हो ।
कोभिड–१९ ले सिर्जना गरेको प्रतिकूल परिस्थितिलाई दृष्टिगत गर्दै पार्टी एकता घोषणा कार्यक्रम जुम र फेसबुक लाइवमार्फत् आयोजना गरिएको थियो ।
यसअघि यी दुबै पार्टी एउटै पार्टी थिए । अलग भएको २२ महिनापछि पुनः साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको हो । साझा पार्टीको संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नुलाई दुर्घटनाको संज्ञा दिनुभएको छ । त्यसैगरी पार्टी एकीकरण घोषणा कार्यक्रममा साझाका संयोजक मिश्रले वैकल्पिक राजनीतिका लागि आफूहरू फेरि एक भएको उल्लेख गर्नुभएको छ ।
अब पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ र चुनाव चिन्ह तराजु रहनेछ । एकिकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजकमा मिलन पाण्डे हुने बताइएको छ ।