आकस्मिक’ रुपमा भारत जाँदै प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार तीन दिने भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नाड्डाको निमन्त्रणमा भारत जान लागेका प्रचण्ड १ साउन आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रचण्डको भारत भ्रमण यस्तो बेला हुन लागेको छ, जतिबेला उत्तरी छिमेकी चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ लियानचाओ चार दिने भ्रमण सकेर भर्खर फर्किएका छन् । आइतबार नेपाल आएका लिउ प्रमुख दलका शीर्ष नेताहरुलाई भेटेर बुधबार मात्र बेइजिङ फर्किएका थिए ।

प्रचण्डको निजी सचिवालयले भारत भ्रमण पूर्व निर्धारित भनेको छ । करिब तीन महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले भारत भ्रमणको प्रस्ताव गरेको भन्दै स्वकीय सचिव रमेश मल्लले समाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्षले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष कमरेड प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो दिनुभएको हो ।’

तर उच्च स्रोतले भने प्रचण्डको भ्रमणको मिति भने आकस्मिक रुपमा तय भएको बताएको छ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउले प्रचण्डलाई भेटेको भोलिपल्ट भारतीय राजदूत नविन श्रीवास्तव भारत भ्रमणको निम्तो कार्ड बोकेर खुमलटार पुगेका थिए । प्रचण्डले पनि दिल्लीको निम्तो सहजै स्वीकार गरेका कारण भ्रमण तय भएको हो ।

भ्रमणका क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोको भातीय नेताहरुसँग भेटवार्ता हुन्छ भन्ने सार्वजनिक भएको छैन । स्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटको निश्चित छैन, तर विदेशमन्त्री एस जयशंकर, रक्षामन्त्री राजनाथ सिंह लगायतका नेताहरुसँग भेटवार्ता हुने बताइएको छ ।

अर्थपूर्ण भ्रमण – प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएको छैन, तर निर्वाचन आयोगल २ मंसिरको मिति सुझाएको छ । निर्वाचन घोषणा नहुँदै दलहरुमा चुनावी गठबन्धनबारे छलफल तीव्र भएको छ । स्थानीय चुनावमा तेस्रो, तर निर्णायक शक्ति बनेको माओवादी केन्द्रले कांग्रेस र एमालेमध्ये जसलाई साथ दिन्छ, आम चुनावपछि त्यही गठबन्धनले सरकारले नेतृत्व गर्ने सम्भावना धेरै छ ।

अर्थात चुनावी गठबन्धन र सत्ता गठबन्धन दुबैमा प्रचण्ड निर्णायक जस्तो देखिएका छन् । त्यसमाथि भर्खर चिनियाँ विदेश विभागका प्रमुखले नेपाल भ्रमण गरेको छ, जसले वाम गठबन्धनको होस् भन्ने चाह व्यक्त गरेको बताइएको छ ।

त्यही कारण पनि भारतीय नेताहरुसँग प्रचण्डसँग कुरा गर्न चाहेको हुनसक्ने माओवादी केन्द्रका एक नेता बताउँछन् । ‘भारत पनि चनाखो छ, चीन पनि चनाखो छ । हामीले दुबै देशसँगको सम्बन्धलाई सन्तुलित राख्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य प्रश्न हो,’ ती नेता भन्छन्, ‘सेमिनारका नाममा भारत गएर नेताहरु भेट्नुभन्दा दलले बोलाएर जानु राम्रो हो । तर त्यहाँ चक्नु चाहिं भएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय