कांग्रेस बैठकमा बस्नेतले दिए यस्तो चेतावनी- ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा कम्युनिष्टहरूसँग गठबन्धन आवश्यक नरहेको भन्दै आफ्नो क्षेत्र सुरक्षित नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले केन्द्रबाट गठबन्धन गरे पनि नगरे पनि आफूलाई मतलब नभएको तर सिन्धुपाल्चोकमा भने आफ्नो क्षेत्र नछाड्ने बताए । बस्नेतको भनाइ थियो, ‘म गठबन्धनको विरोधी होइन । गर्नुस् नगर्नुस् मलाई मतलब पनि छैन । तर, सिन्धुपाल्चोकमा मेरो क्षेत्र कसैलाई छाड्दिनँ । मेरो सिट सुरक्षित भएन भने विद्रोह गर्छु ।’

बस्नेतको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक-१ हो । सो क्षेत्रबाट सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । वाम गठबन्धनबाट सापकोटा जित्दा बस्नेत दोस्रो भएका थिए । यसअघि उनले सो क्षेत्रबाट दुईपटक चुनाव जितिसकेका छन् । गठबन्धन हुँदा सापकोटाका लागि सो सिट पार्टीले छाड्न सक्ने खतरा भएकाले उनले अहिले नै विद्रोहको चेतावनी दिएका हुन् ।

सिन्धुपाल्चोकमा गत स्थानीय चुनावमा जुगल गाउँपालिकामा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो भने मेलम्चीमा राप्रपासँग गठबन्धन गरेर जितेको थियो । अन्यत्र एक्लै जितेको कांग्रेसले जिससमा नेकपा एससँग मिलेर जितेको छ ।

एमाले र माओवादी केन्द्रबीच पनि देशभर जेसुकै भए पनि सिन्धुपाल्चोकमा वाम गठबन्धन गर्ने लिखित समझदारी बनेको बेला बस्नेतले केन्द्रीय कार्य समितिमै यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय