जसपाबाट बाहिरिन लागेका बाबुरामले गरे नयाँ पार्टी खोल्ने खुलासा

काठमाडौं – जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । पार्टी अध्यक्ष उपेन्द्र यादवले असार २७–२८ गते वीरगन्जमा कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।

सो बैठकमा बाबुरामलाई आमन्त्रण गरिएको छैन । केही समयअघि उपेन्द्र र बाबुरामबीच सल्लाहमै छुट्टिने सहमति भइसकेको छ । सोही कारण कार्यकारिणी समितिको बैठकमा बाबुरामलाई नबोलाइएको हो ।

बाबुरामले पनि सोही दिन जसपाको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बोलाएका छन् । जसपामा अहिले उपेन्द्र बहुमतमा छन् । बाबुरामले बोलाएको केन्द्रीय समितिको बैठकमा जो जो उपस्थित हुनेछन्, उनीहरूलाई साथमा लिएर अलग हुने र नयाँ पार्टी खोल्ने मनस्थितिमा बाबुराम पुगेका छन् । जसको संकेत उनले मंगलबार गरेका छन् ।

बाबुराम निकट नेताहरूका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ । आन्तरिक कलहमा होमिइरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर आफू निकटका मात्रै तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएपछि जसपा नेपाल थप विवादमा भइरहेको बेला अध्यक्ष भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘देशमा वैकल्पिक राजनीति र शक्तिको आवस्यकता÷औचित्य सिद्धिएको वा नभएको हैन, बरू बढेर गएको छ। साथै हामीले केही समययता गर्दै आएको प्रयोग पनि त्यति परिणाममुखी हुन सकिरहेको छैन।

अतः यसको निर्मम समीक्षा गरेर अघि बढ्ने साहस गरौं । युगीन कार्यभार सजिलै÷छिटै पूरा हुन्नन्,’ बाबुरामले भनेका छन् । उनले केन्द्रीय समिति बैठकमा नयाँ पार्टीको प्रस्ताव गर्ने संकेत गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय