विष्णु प्रसाद आचार्य (चकित) गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ का अगुवा कृषक राजन सापकोटाले सरकारी अनुदान दुरुपयोग गर्न खोज्ने किसान असफल भएको बताउनुभएको छ ।
सरकारबाट अनुदान लिने तर त्यसको सही सदुपयोग नगर्ने किसानले प्रगति गर्न नसक्ने उहाँको भनाइ छ । विभिन्न शीर्षकमा सरकारी अनुदानको लागि दाबी गर्ने सोही अनुसारको कागजी प्रक्रिया पनि मिलाउने तर काम नगर्ने क्रियाकलाप केही समय अगाडि व्याप्त रहेपनि स्थानिय सरकारको प्रत्यक्ष निगरानी हुने भएकोले अहिले त्यस्तो गर्न नसकेको उहाले बताउनुभयो ।
नबखबरसँग कुराकानी गर्दै उहाँले मुसिकोटमा एउटै गाइबाट फरक फरक कृषकले अनुदान लिएको भन्ने कुरा के हो ? भन्ने प्रश्नमा केहीले त्यस्तो दाबी गरेको तर त्यो प्रक्रिया अस्वभाविक भएकोले असफल भएको बताउनुभयो । तपाइ कृषक नै किन बन्नुभयो ? भन्ने प्रश्नमा उहाँले परम्परागत कृषकबाट बिस्तारै व्यवसायिक बनेको र आफुले आफुलाइ कृषक भनेर परिचय दिन पाउँदा गर्वको अनुभुती हुने पनि उहाँले बताउनुभयो ।
कृषी क्षेत्रभित्र धेरै विषय पर्ने भन्दै आफुले गाइपालन गरेको र निकट भविष्यमा भैसीपालनमा पनि लगानी गर्ने सोच रहेको उहाँको भनाइ थियो । मौसमअनुसार आफुले दिनमा ३०/४० लीटरदेखी ५०/६० लीटरसम्म दुध उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । २०७१ सालदेखी आफुले व्यवसाय गर्न थालेको उहाले बताउनुभयो ।त्यस्तै ५० देखि ६० हजार मासिक आम्दानी गर्ने गरेको पनि उहाले बताउनुभयो ।
१४ लाखबाट सुरु गरेको गाइ फार्म अहिले भौतिक संरचना सहित झण्डै ६० लाख भएको पनि उहाँले जानकारी दिनुभयो । आफुले सम्पुर्ण व्यवस्थापनको काम गर्ने र बाँकी २० देखी २५ प्रतिशतसम्म काममा सघाउने गरेको अनुभव सुनाउँदै आफु सफल हुनुमा परिवारको निकै सहयोग तथा भुमिका रहेको उहाँले बताउनुभयो ।
नगरपालिकाबाट सानातिना प्राविधीक सहयोग मिलेतापनि उपचार र आवश्यक सल्लाहको लागि प्रर्याप्त व्यवस्था नभएकोले कृषकको लागि त्यो दुखको कुरा भएकोले आफुले इन्टरनेटमा उपचार तथा विभिन्न समस्याको समाधान खोज्ने गरेको पनि उहाँको भनाइ छ ।
एउटा कृषक जे कुरामा सफल छ अर्कोले पनि त्यही क्षेत्र नहेरेर फरकफरक प्रकृतिका व्यवसाय गर्नाले अन्तरसम्बन्धित भइने र बजारको आवश्यकतालाइ पुर्ति गर्न सकिने उहाँको सुझाव छ ।