माओवादी महासचिवमा तेस्रो व्यक्ति ल्याउँदै प्रचण्ड

काठमाडौं – पार्टीको राष्ट्रिय महाधिवेशन सकिएको ६ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पदाधिकारीलाई पूर्णता दिने तयारीमा छन् ।

त्यसका लागि मंगलबार केन्द्रीय समितिको र्बैठक स्थगित गरी गृहकार्य थालिएको थियो । आज बस्ने बैठकमा प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यको नाम प्रस्तुत गर्ने एजेन्डा छ ।मंगलबार खुमलटारमा   केन्द्रीय कार्यालयको विस्तारित बैठकले जसरी पनि पदाधिकारी चयन गर्नुपर्ने निर्णय गरेपछि प्रचण्ड स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी मनोनीत गर्न कस्सिएका हुन् ।

महासचिवमा अर्थमन्त्री जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनबीच तीव्र प्रतिस्पर्धा छ । माओवादीको पूरै संगठन हाँक्ने हुँदा महासचिवमा प्रचण्डले कसलाई ल्याउँछन् भन्नेमा सबैको चासो छ ।

शर्मा र पुन दुवै विश्वासिला पात्र भएकाले महासचिव छनोटमा प्रचण्ड निकै दबाबमा छन् । तर पछिल्लो समय अर्थमन्त्री शर्मा गभर्नर निलम्बन, बजेट निर्माणलगायत विषयमा विवादमा तानिएका छन् ।

उनलाई पदबाट राजीनामा दिन चौतर्फी दबाब बढ्दै गएको छ । त्यसैले उनको मन्त्री पदसमेत धरापमा परेको छ । पार्टीभित्रै र बाहिर यतिबेला शर्मा निकै आलोचित छन् ।

शर्माकै कारण पार्टीलाईसमेत धक्का लागेकाले उनी महासचिव बन्ने सम्भावना नरहेको स्रोतको दाबी छ । मंगलबारको बैठकमा प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव बनाउन सकिने संकेत पनि गरेका थिए ।

तेस्रो व्यक्तिमा कतिपयले देव गुरुङ, शक्ति बस्नेत र पम्फा भुसाल हुन सक्ने अनुमान गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि नारायणकाजी श्रेष्ठको विकल्पमा अर्को नेता नदेखिएका कारण उनी उक्त पदका लागि चयन हुने सम्भावना रहेको छ ।

उपमहासचिव, सचिव र कोषाध्यक्षका दाबेदार पनि धेरै देखिएका छन् । शक्ति बस्नेत, देवेन्द्र पौडेल, जयपुरी घर्तीलगायतले पदाधिकारीमा प्रवेश पाउन सक्ने अनुमान गरिएको छ । एमाले र कांग्रेसमा जस्तै युवा पुस्ताबाट पदाधिकारी चयन गर्ने सम्भावना रहेको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय