मनसुनजन्य विपदको पूर्व तैयारीका लागि जुट्दै मुसिकोट

सागर भण्डारी,गुल्मी । मनसुन सुरु भएसगैं हुनसक्ने सम्भावित जोखिम न्यूनिकरणकालागि मुसिकोट नगरपालिकाले पूर्व तैयारी सुरु गरेको छ ।वर्षायाम सुरु भएसगैं बाढी पहिरो लगायत अन्य मनसूनजन्य घटनाहरु पनि सुरु भएकाले त्यसको पूर्व तैयारी स्वरुप नगरपालिकाको विपद व्यवस्थापन शाखाले सरोकारवालाहरुसगं छलफल गरेको छ ।

नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्दार र पुनःस्थापनका लागि गर्न सकिने कार्यहरुका विषयमा छलफल गरेको हो । त्यस्तै उद्धार तथा राहतका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्ने समेत बैठकले निणर्य गरेको छ भने राहत र उद्धारका लागि वडामा रहेको आरआरटी टिमलाई सक्रिय बनाउने समेत निणर्य गरिएको छ ।

नगरप्रमुख जीवन खरेलले मुसिकोट नगरपालिकामा प्रत्येक वर्ष मनसुनजन्य विपतबाट ठुलो क्षति व्यहोर्नु परेको बताए । खरेलले विपद प्रतिकार्य योजना, राहत तथा उद्धारका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय सरकारसगैं सरोकारवाला सम्पूणर् निकायहरु एकजुट हुनुपर्ने धारणा राखे ।

नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले विपद व्यवस्थापन शाखाले गर्ने काम, नगरको कार्यविधि,पूर्व तैयारी लगायतका विषयमा प्रष्टाएका थिए । भुषालले विपद्बाट हुने जनधनको क्षति कम गर्न स्रोत साधनसहित पूर्वतयारी प्रतिकार्य योजना आवश्यक रहेको बताए ।

छलफल कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले बाढी पहिरो मात्रै नभएर मुसिकोट नगरपालिकाको दजाकोट, हलोगाडे, मैदान तथा थाम लगायतका क्षेत्रमा चट्याङ्बाट पनि धेरै धनजनको क्षति हुने गरेकाले यसबाट बँच्न के गर्ने भन्ने विषयमा पनि सोँच्नुपर्ने बताए । उनले परिक्षणका रुपमा लाईटिङ रड प्रविधिको प्रयोग गर्न समेत सुझाव दिँदै वृक्षरोपण कार्यक्रमलाई प्रभावकारी बनाउन आग्रह गरे ।

नगरस्वास्थ्य सयोंजक डिबी जिसीले मनसुनजन्य रोगहरुबाट बँच्न सचेतनामूलक कार्यक्रम गर्नुपर्ने भन्दै प्रभावित क्षेत्रमा हुने स्वास्थ्य समस्या न्यूनिकरण गर्ने विषयमा चनाखो हुन सबैलाई आग्रह गरे ।

मुसिकोट नगरपालिका वडा नं ३ का वडासदस्य थम्मन बहादुर क्षेत्रीले मनसुनजन्य विपदबाट पीडितहरुलाई तत्कालै थोरै भएपनि राहत दिने व्यवस्था गर्न अनुरोध गरे । क्षेत्रीले पीडामा रहेकाहरुलाई थप पीडा पुग्ने गरी राहत दिने प्रक्रिया लामो र झन्झटिलो भएकाले यसलाई सहज बनाउनुपर्ने बताए । त्यस्तै उनले सडक निर्माण गर्ने मात्रै भन्दा पनि ढल निकासको राम्रो प्रबन्ध गर्न सकेमा विपदका घटनाहरु कम हुने धारणा राखे ।

सहभागीहरुले भौगोलिक दृष्टिले कतिपय वडाहरुमा वर्षायाममा बाटो अवरुद्ध हुने गरेकाले राहत तथा उद्धारका सामाग्रीहरु वडा कार्यालय तथा विभिन्न स्थानमा राख्नुपर्ने बताएका थिए ।

५१ घर पुन : निर्माण हुँदै – मुसिकोट नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा मनसूनजन्य विपत्तिमा परि घरबास गुमाएका र जोखिममा परेका ५१ घर पुन ः निर्माण हुँदै छन् । उनीहरुले पुर्ननिर्माण वापतको पहिलो किस्ता समेत लगेका छन् ।

मनसूनजन्य विपद शाखाका अनुसार २८ घरधुरी प्रवलीकरण (मर्मत सम्भार) हुँदैछ । मनसूनजन्य विपद प्रभावित निजी आवास पुर्नःनिर्माण कार्यक्रम अन्तर्गत सघींय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सयुंक्त लगानीमा उक्त घर निर्माण हुँदै गरेको शाखामा कार्यरत असिष्टेन्ट शव ईन्जिनियर करन विष्टले जानकारी दिए ।

प्रभावितहरुले आवास पुर्न : निर्माणका लागि ४ लाख रुपैयाँ पाउँछन् । जसमध्ये सघींय सरकारको ५५ प्रतिशत प्रदेश सरकारको ३० प्रतिशत र नगरपालिकाको १५ प्रतिशत खर्च बेहोर्ने विष्टले बताए । त्यस्तै प्रवलीकरणमा परेका घरधुरीले नगद ५० हजार रुपैयाँ पाउने उनको भनाई छ ।

१६७ जनाले लिए राहत – आर्थिक वर्ष २०७८/७९ मा नगरपालिका भित्र मनसुनजन्य विपत्तिबाट प्रभावित १६७ जनाले राहत लिएका छन् । नगरपालिकाको विपद तथा राहत कोष मार्फत नगरप्रमुख स्वयंले २५ हजारसम्म प्रभावित व्यक्ति तथा पीडितको अवस्था हेरेर तत्कालै दिन मिल्ने व्यवस्था रहेको छ । उक्त अवधिमा बाढी,पहिरो,आगलागी लगायतका विपदमा परेका उनीहरुलाई अवस्था हेरेर रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार यो वर्षको मनसुन सुरु भएपश्चात यता मात्रै ६७ जनाले राहत लिएका छन् । यद्यपी यो वर्षको मनसुन सुरुभएसगैं कति क्षति भयो र कति प्रभावित भएभन्ने स्पष्ट तथ्याङ्क भने मुसिकोट नगरपालिकामा छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय