प्रचण्डको विश्लेषण- कांग्रेस शहरमा र माओवादी गाउँमा बलियो, एमाले दुवैतिर उस्तै

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । 

उक्त प्रतिवेदनमा सम्पन्न स्थानीय तह निर्वाचन ‘गठबन्धनको समीक्षा र शिक्षा’ पनि उल्लेख गरिएको छ । जसमा सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व स्तरमा रहेको समझदारी र आवश्यकताको महसुस स्थानीयस्तरमा कायम हुन नसकेको उल्लेख छ ।

प्रतिवेदनमा खासगरी नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमान्दार र गम्भीर नपाइएको कुरा उल्लेख छ ।

प्रतिवेदनमा माओवादी केन्द्र बलियो रहेका रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा कांग्रेसले एमाले र अन्य दलहरूसँग गठबन्धन गरी माओवादी केन्द्रलाई कमजोर पार्न लागेको विषय उल्लेख छ ।

माओवादीले शहरमा आफूहरू कमजोर भएको स्वीकारेको छ । ‘नेपाली कांग्रेसको मतपरिणाम हेर्दा शहरको तुलनामा गाउँमा कमजोर रहेको देखिन्छ’, प्रचण्डले भनेका छन्’, ‘नेकपा एमालेको मतपरिणाममा ग्रामीण क्षेत्र र शहरी क्षेत्रमा खासै भिन्नता देखिँदैन । हाम्रो पार्टीको मतपरिणाम भने शहरको तुलनामा गाउँमा मजबुत देखिन्छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति अपनाएको देखिन्छ ।’

यस्तै गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँठाउँमा समस्या देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । ‘जसको परिणाम केही स्थानहरूमा गठबन्धन नै पराजित बन्न पुग्यो,’ प्रतिवेदनमा भनिएको छ ।

जनता समाजवादी पार्टीले आफ्नो आधार बलियो भएका तराई-मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक हुँदा पनि समस्या पैदा भएको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

‘यी कारणहरूका बाबजुद विगतको तुलनामा निर्वाचन परिणामलाई सन्तोषजनक नै मान्नुपर्दछ,’ प्रतिवेदनमा भनएिको छ ।

प्रतिवेदनमा अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट भएका आठ कमजोरीहरूलाई बुँदागत रुपमा समेटेका छन् ।

ती बुँदाहरूमा गठबन्धनमा बढी निर्भर हुनुदेखि लिएर पार्टीभित्रकै अन्तर्घातसम्मका बुँदाहरू समेटिएका छन् ।

८ बुँदा जस्ताको तस्तै – पहिलो-पार्टी पंक्तिमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्नाले आफ्नो तयारीमा फितलोपन देखिनु ।

दोसो-गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वासले फितलोपन देखिनु । गठबन्धन हँुदा उम्मेदवारका आकांक्षी बढी हुने र एकल प्रतिस्पर्धा गर्नपर्दा अरुची देखा पर्नु । तेस्रो-कांग्रेसलगायतका गठबन्धनका सहयात्रीहरुमा बढी भर पर्नु ।

चौथो-प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षमा गठबन्धन हुनु तर वडातहमा एकल प्रतिस्पर्धा गर्नुपर्दा चनावी प्रचार, एकीकृत परिचालनमा तालमेल मिलाउन नसक्नु । पाचौं-तालमेल गर्दा व्यक्ति केन्द्रित वा निश्चित पालिका केन्द्रित तालमेलको प्रयत्न गर्नु ।

छैटौं- लोकप्रियलाई भन्दा आफूनिकटलाई उम्मेदवार बनाउन जोड गर्नु, आफू वा आफूनिकटकाले नपाउँदा असहयोग गर्नु वा हराउन उद्दत हुनु । सातौं- पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलहरूमा विकृतिका रुपमा देखा परेको प्रवृत्तिलाई रोक्न नसक्नु ।

आठौं- कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटनाहरु देखा परे । त्यसका प्रकारका गुटबन्दी, असहयोग र अन्तर्घातजस्ता पार्टी विरोधी गतिविधिहरुको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नु पर्दछ ।

आगामी योजना – यस्तै प्रतिवेदनमा अध्यक्ष प्रचण्डले आगामी समयका लागि ६ बुँदे योजना पनि समेटेका छन् । जसमा आफ्नै शक्ति र संगठनमा भर पर्नेदेखि लिएर गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुनेसम्मका कुराहरू उल्लेख छन् ।

६ बुँदा जस्ताको तस्तै – पहिलो-आफ्नो शक्ति र संगठनमा भर परेर निर्वाचनको तयारी गर्ने ।

दोस्रो-गठबन्धन हुँदा वा नहुँदा पनि उम्मेदवार बन्न तयार हुने । तेस्रो- निर्वाचनमा सहभागी हुनुलाई पार्टीको सिद्धान्त, राजनीति र नीतिको प्रचार गर्ने एवं संगठन विस्तारका रुपमा लिने । चौथो-गुट, उपगुट वा निकटताको आधारमा नभई लोकप्रिय उम्मेदवारमा ध्यान दिने ।

पाँचौ -उम्मेदवारको टुंगो लाग्नुअघि प्रतिस्पर्धा गर्न वा आकांक्षा राख्नु स्वभाविक भए पनि पार्टीले उम्मेदवारको टुंगो लगाएपछि पूरा शक्तिका साथ एकढिक्का भएर विजयी गराउन जोड लगाउने ।

छैटौं-प्रतिस्पर्धी दलका भ्रम, षड्यन्त्र, चलखेल, पैसाले मत खरिद गर्नेजस्ता विकृतिलाई रोक्न आफ्नो पंक्तिलाई तयार पार्नेजस्ता शिक्षा यस निर्वाचनले दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय