वामदेवको काउन्टर- युवराज सफलसहित पाँचैजना निष्कासित

काठमाडौं । राष्ट्रिय एकता अभियानबाट संयोजक वामदेव गौतमलाई नै निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई गौतमले जवाफी कारबाही गरेका छन् । पार्टीको हिजो बसेको सचिवालय वैठकले सचिवालय सदस्य युवराज सफलसहित पाँचैजनालाई निष्कासन गर्ने निर्णय लिएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले अनुशासनविपरीतका क्रियाकलाप गरेकाले उनीहरूमाथि कारबाहीको निर्णय भएको बताए । पार्टीका ९ जना सचिवालयमध्ये ७ जना हिजोको बैठकमा सहभागी थिए ।

पाण्डेका अनुसार युवराजलाई कुनै पनि अवस्थामा पार्टीमा नफर्काउने गरी निष्कासन गरिएको छ भने अन्य ४ जनालाई आत्मालोचना गरेमा पार्टीमा फर्कन सकिने विकल्प दिइएको छ ।

हिजो वामदेवलाई कारबाहीको विज्ञप्ति जारी गर्नेहरूले आफूहरूसँग पार्टीको बहुमत रहेको दाबी गरेका थिए । तर, उनीहरूको दाबी हास्यास्पद रहेको पाण्डेले बताए ।

‘९ जना सचिवालय सदस्यमध्ये ८ जना वामदेव कामरेडसँगै छौं । ६९ जना केन्द्रीय सदस्यमध्ये उहाँहरूसँग ७-८ जना हुनुहुन्थ्यो । हिजो हस्ताक्षर गरेका बाहेक अरुले पार्टीमै रहन्छौं भनिरहनुभएको छ । त्यसैले युवराजीसँग जम्मा ४ जना छन्,’ उनले भने ।

पाण्डेका अनुसार राष्ट्रिय एकता अभियानले आयोजना गरेको भेलामा युवराजसहितका केही व्यक्तिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी थिए । उनीहरूले आफूहरूलाई पनि पार्टीको केन्द्रीय नेतृत्वमा समेट्न आग्रह गरेपश्चात वामदेवले उनीहरूलाई निवेदन लेख्न लगाएका थिए । त्यसअनुसार उनीहरूले केन्द्रीय समितिमा रहने इच्छा जाहेर गर्दै लेखेको निवेदन आफूहरूसँग सुरक्षित रहेको पाण्डेले बताए ।

अभियानको ९ सदस्यीय सचिवालयमा युवराजले पनि स्थान पाएका थिए । पार्टी गठनपछि चन्द्रागिरीमा केन्द्रीय समिति बैठक बसेको थियो । उक्त वैठकमा युवराजले आफू ४-५ वटा पार्टी लिएर आएको भन्दै ती सबै पार्टीका एक-एक जनालाई सचिवालयमा राख्नुपर्ने माग राखे । पार्टीले उनको माग अस्वीकार गर्‍यो । त्यसपछि उनले १६ गते पार्टीबाट राजीनामा दिए ।

१७ गते पार्टीले उनको राजीनामा स्वीकृत गरिसकेको थियो । तर, त्यसको भोलिपल्ट युवराजले अरु ४ जनालाई हस्ताक्षर गराएर वामदेवलाई निस्काशित गरेको विज्ञप्ति जारी गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय