नेपाली काँग्रेसमा शेखर समूहले दियो  बिद्रोहको  चेतावनी

काठमाडौं – नेपाली काँग्रेसमा डा.शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । बिहीबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला पक्षको बैठकले पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै कोइराला समूहले विद्रोहको चेतावनी दिएको हो ।

बैठकपछि बोल्दै कांग्रेस नेता चन्द्र भण्डारीले भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताए । उनले कस्तो खालको विद्रोहको गर्ने र आगामी कदम के हुने भन्ने बारेमा शुक्रबारको बैठकले टुंगो लगाउने बताए । यस्तै बैठकले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको निष्कर्ष निकालेको छ । बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढेको निकालेको हो ।

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने छ ।शेखर समूहको बैठक : देउवा विधान विपरीत चले प्रतिवाद गर्ने चेतावनी नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवा विधान विपरीत चलेको र आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।

काठमाडौंमा बिहीबारदेखि सुरु भएको कोइराला पक्षको भेलामा सहभागी नेताहरुले देउवा एकलौटी ढंगले विधान मिच्दै अघि बढेको भन्दै प्रतिवाद गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

देउवालाई दबाव दिन जिल्लास्तरसम्म छलफल र भेला गर्नुपर्ने धारणा समेत उनीहरुले राखेका थिए । ‘छलफल गरेर मात्रै शेरबहादुर देउवाबाट केही प्राप्त हुने देखिन्न । पार्टी र सरकार एकलौटी चलाए । कडा रुपमा विद्रोह र फाइट गरेर जानुपर्छ’ बैठकमा एक नेताले भने ।

सरकार पनि एकलौटी चलेको र देउवाकै कारण पार्टीको छवि जनतामा धुमिल रहेको पनि नेताहरुले बताए । पार्टीमा सत्ता प्राप्तिको चिन्तन मात्रै देखिएको भन्दै विधानलाई पूर्ण बेवास्ता गरिएको विषयलाई उठाउनुपर्ने नेताहरुले बताएका थिए ।

‘महंगी र सुशासनमा सरकारका धेरै कमजोरी रहे । पार्टी एकलौटी तरिकाले चलेको छ । ४० प्रतिशत मत ल्याउने एक पक्षलाई वेवास्ता गरिएको कुरा उठेको छ,’ बैठकमा सहभागी एक नेताले भने ।

४० प्रतिशत मत पाएको समूहलाई साथमा लिएर पार्टीमा निर्णय नभई एकतर्फी भएकोमा सहभागीले आपत्ति जनाएका थिए । युवा पुस्ताबाट विजयी दुई महामन्त्रीलाई बेवास्ता गर्दै निर्णय हुँदै आएकोमा सहभागीले आक्रोश व्यक्त गरेका थिए ।

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई धेरै जिम्मेवारी दिएको, तर उनकै हैसियतका धनराज गुरुङलाई वेवास्ता गरिएको भन्दै प्रतिवादमा उत्रन नेतृत्वलाई सुझाव दिएका थिए ।

पार्टीमा अरु पदाधिकारी भन्दा उपसभापति खड्का र पार्टी प्रवक्ता डा. प्रकाशशरण महत हाबी भएको नेताहरुको गुनासो छ । सभापति देउवाले महामन्त्रीहरुलाई विधानले दिएको अधिकारसमेत प्रयोग गर्न नदिएको पनि कोइराला पक्षका नेताहरुले बताएका थिए । ‘केन्द्रीय कार्यालयमा कर्मचारीको आवश्यकता तथा तलव भत्तामा महामन्त्रीको भूमिका हुनुपर्छ,’ बैठकमा सहभागीले भने ।

१३ औं महाधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका नेता रामचन्द्र पौडेललाई छुट्टै कार्यकक्ष दिइएकोमा अहिले कोइरालालाई छुट्टै कार्यकक्ष नदिएको भन्दै नेताहरुले विरोध जनाएका थिए ।

‘१३ औं महाधिवेशन पश्चात् नेता रामचन्द्र पौडेललाई केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष थियो । उहाँ सभापतिमा हारेको हो । सभापतिमा हारेका रामचन्द्रको कार्यकक्ष बनाइयो । तर शेखर दाइलाई कार्यकक्ष समेत दिइएन’ बैठकमा उठेका विषयबारे एक नेताले भने ।

बिहीबार बोल्नेहरुले महामन्त्री गगन थापा र अरु पदाधिकारीलाई सभापतिसँग नझुक्न सुझाव दिएका छन् । भ्रातृ संस्थामा विना परामर्श नियुक्ति, विधान विपरीतका गतिविधि, नीति महाधिवेशन लगायतका महत्वपूर्ण विषयमा सभापति देउवाले बेवास्ता गरेको भन्दै सहभागीले आगामी केन्द्रीय समिति बैठकमा यो विषय उठाउनुपर्ने धारणा राखेका थिए ।

भेलामा नेता शेखर कोइराला, महामन्त्री गगन थापा, बलबहादुर केसी, चन्द्र भण्डारीलगायतका नेता सहभागी भएका थिए । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री बद्री पाण्डे शुक्रबारको बैठकमा उपस्थित हुने केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले जानकारी दिए ।

सभापति देउवा पार्टीको विधान अनुसार अघि नबढे जिल्ला तहदेखि नै दबाव दिने शेखर पक्षको योजना छ । ‘पार्टी र सरकारका गतिविधिका बारेमा सुसुचित गर्दै कार्यकर्तालाई परिचालन गर्ने विषयमा छलफल भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पार्टीको भविष्य, विधान कार्यान्वयन, भ्रातृ संघ संस्थाका नेतृत्व चयन, मुलुकको आर्थिक अवस्थाको बारेमा व्यापक छलफल भएको छ ।’

पार्टीभित्र परिवर्तन चाहनेलाई निराश नपार्न पनि तल्लो तहसम्म विचार पुर्‍याउन सहभागीले नेता कोइरालालाई सुझाव दिएका छन् । ‘पार्टी मजबुत पनि होस् । आगामी निर्वाचन जित्न पनि सकियोस् । त्यही अनुसारले हाम्रो पक्षको गतिविधि हुनुपर्ने सुझाव आएका छन्’ सहभागी एक नेताले भने ।

स्थानीय निर्वाचनको परिणाम, सत्तारुढ गठबन्धनमा देखिएका समस्या, समग्र राजनीतिमा गठबन्धनले पार्ने प्रभावका विषयमा छलफल केन्दित भएको नेता मनोजमणि आचार्यले बताए । भेलाको पहिलो दिन बिहीबार भ्रातृ संस्थाका पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।

बिहीबार महेन्द्र शर्मा, डा. चन्द्रमोहन यादव, भूपेन्द्रजंग शाही, सुवास पोखरेल, रञ्जित कर्ण, प्रतिमा गौतम, केशव सिंह, मनोजमणि आचार्य, युवराज पाण्डे, डिल्लीराम सुवेदी, मुक्ता यादव लगायतले आफ्ना विचार राखेका थिए । भेला शुक्रबार पनि बस्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय