हाम्रोपात्रोमा आयो नयाँ गजबको फिचर !

काठमाडौं । हाम्रो पात्रोले ‘हाम्रो लर्निङ सेन्टर’ नामक फिचर थप गरेको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा सुविधा ल्याएको हो ।

हाल यो फिचर बेटा भर्सनको रूपमा उपलब्ध गराइएको छ । यसले स्रोतसाधनको अभाव रहेका ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

हाम्रो पात्रो इङ्कका संस्थापक तथा सीईओ शङ्कर उप्रेतीले लर्निङ सेन्टरले नेपालको शिक्षालाई आम मानिसको पहुँचमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “लर्निङ सेन्टरलाई समयानुकूल परिमार्जन गर्दै प्रविधिका माध्यमबाट सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन यो कदम चालेका हौँ,” उनले भने ।

डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीले हाम्रो पात्रोसँगको सहकार्यबाट फ्लिप्ड क्लासहरू अझ धेरै विद्यार्थी माझ पुग्ने बताए । “हाम्रा कक्षाहरू विद्यार्थीहरूमाझ लोकप्रिय छन् र हाम्रो पात्रोको माध्यमबाट अझ धेरै विद्यार्थीहरू लाभान्वित हुनेछन्,” उनले भने ।

हाम्रो लर्निङ सेन्टरमार्फत विभिन्न शैक्षिक संस्थाले सजिलै आफ्ना शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सक्ने बताइएको छ । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कक्षा ४ देखि ११ कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन् । आगामी दिनमा बाँकी आवश्यक लेक्चर, सम्बन्धित विषयका प्रश्न, क्विज समेत थपिने कम्पनीले जनाएको छ ।

गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट हाम्रो पात्रोको एप अपडेट तथा डाउनलोड गरी ‘हाम्रो लर्निङ सेन्टर’ प्रयोग गर्न सकिनेछ । – टेकपाना डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय