एमाले उक्साहटमा राष्ट्रपति भित्रभित्रै हुन थालिन् सक्रिय

काठमाडौं – झन्डै एक वर्षपछि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय हुन थालेकी छन् । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिन अब आठ महिना पनि बाँकी छैन ।

एमाले नेतृत्वको सरकारका पालामा राष्ट्रपति भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । चार वर्षे कार्यकाल सकिन लाग्दै गर्दा राष्ट्रपति भण्डारीले भेटघाट थालेकी छन् । राष्ट्रपति संवैधानिक पद हो ।

कार्यकारी राष्ट्रप्रमुखले जस्तो राष्ट्रपतिले बाहिर बोल्न पाउँदैनन् । त्यसैले राष्ट्रपति भण्डारीले आफू निकट र एमाले निकट नेता, पत्रकारलाई शीतल निवासमा बोलाएर उनले घन्टौं छलफल गर्न थालेकी छन् ।

केही समयअघि एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीका दर्जनौं नेतालाई शीतल निवासमा डिनरसहितको भेला आयोजना गरिएको थियो । त्यसबेला राष्ट्रपति भण्डारीले दुई घन्टाभन्दा बढी समय कुराकानी गरेर बिताएकी थिइन् ।

उनले प्रत्येक पत्रकारसँग अलग अलग फोटो सेसनसमेत गरेकी थिइन् । केही पत्रकारले ती फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । एमाले निकट अनलाइनले राष्ट्रपति भण्डारी वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्ट भन्दै समाचार प्रकाशित गरेका थिए ।

लगत्तै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शीतल निवासमा लामो छलफल गरेकी थिइन् । भेटमा राष्ट्रपतिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा अलपत्र परेकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।

एमालेले संस्थागत रूपमै चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव तत्काल प्रक्रिया अघि बढाउन माग गर्दै आएको छ । राष्ट्रपति पद राष्ट्रको अभिभावक भए पनि भण्डारी भने अहिलेसम्म एमालेकै नेता भएको आरोप लाग्दै आएको छ ।

एमालेमा पनि अध्यक्ष केपी ओलीले जे जे भन्यो राष्ट्रपति भण्डारी त्यसरी नै चल्न थालेको आरोप लाग्दै आएको छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारी माओवादी र एकीकृत समाजवादीको नामै सुन्न चाहन्नन् ।

एमालेलाई कमजोर बनाएको उनलाई चित्त बुझेको छैन । जुन कुरा एक वर्षअघि राष्ट्रपति भण्डारीले सार्वजनिक रूपमै प्रकट गरेकी थिइन् ।

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here