हामी गठबन्धनको पछुवामात्रै भयौं, कुनै छलफल हुँदैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु गठबन्धनको पछुवामात्रै भएको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै खनालले गठबन्धन सरकार भए पनि महत्वपूर्ण निर्णयमा सल्लाह नहुनु दुःखद रहेको बताए । खासगरी परराष्ट्र सम्बन्धका विषयमा सरकारले अपरिपक्व कदम चालेको खनालको आरोप छ ।

‘गठबन्धनको सरकार बनेपछि राष्ट्रियताको सवाल सुदृढ होला भन्ने लागेको थियो । तर, प्रधानमन्त्रीले फटाफट ३ वटा पश्चिमा देशको राजदूत नियुक्त गर्नुभयो । चीनको त छैन, जापानको त छैन । युक्रेन घटना घट्नेबित्तिकै हाम्रो परराष्ट्रमन्त्रीले गठबन्धनमा छलफल नगरी विरुद्धमा वक्तव्य दिनुभयो । हामी त गठबन्धनको पछुवामात्रै भयौं । संयुक्त सरकार भएपछि त सल्लाह गर्नुपर्छ नि’, खनालले भने ।

एमसीसी सम्झौता गर्ने विषयमा पनि गठबन्धनका नेताहरुले खुट्टा कमाएको उनले बताए । खनालले चीन र भारत विश्वकै पहिलो र दोस्रो शक्ति राष्ट्र बन्ने ठोकुवा गर्दै छिमेकसँगको सम्बन्ध सन्तुलित राख्न जरुरी हुने बताए ।

‘उत्तरतिरको छिमेकी संसारको पहिलो शक्ति हुन्छ हुन्छ । अनि दक्षिणतिरको छिमेकी दोस्रो शक्ति हुन्छ । त्यसो हुनाले यी महत्वपूर्ण छिमेकीसँग बसेको देशले सन्तुलन मिलाउन जान्नुपर्छ । हामीले सन्तुलन कायम गरेनौं भने हामी काम लाग्दैनौं’, खनालले भने ।

उनले अमेरिकी सेना नेपाल आए चारपाटा मुड्छु भन्नेहरु कता गए भनी प्रश्नसमेत गरे । ‘हामीले एमसीसी इन्डो प्यासिफिक रणनीतिको हिस्सा हो भन्यौं । तर, अमेरिकी सेना आए चारपाटा मुड्छु भन्नेहरु थिए । तिनीहरु अहिले कहाँ गए ?’, खनालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय