कार्यकर्तालाई नेपालको निर्देशन- घरघरमा गएर कलमको प्रचार गर्नुस्, अब २० लाख भोट ल्याउनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सिंगो पार्टी पंतिको ध्यान प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा केन्द्रित गर्नुपर्ने बताएका छन् । उनले १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न निर्देशन दिए ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले नेकपा एसले चुनावमा अधिकतम सफलता हासिल गर्ने गरी वातावरण बनाउनुपर्ने बताए । प्रत्येक कार्यकर्ता जनताको घर-घरमा पुग्नुपर्ने उनको भनाइ थियो ।

नेपालले भने, ‘हामीले १६५ निर्वाचन क्षेत्रमा अहिलेदेखि नै उम्मेदवारको तयारी गर्नुपर्छ । कति ठाउँमा डम्मी उम्मेदवार पनि उठाउनुपर्ने हुन सक्छ । पालिका-पालिका, वडा वडामा कार्यकर्ता खटाउनुपर्छ । बुथ-बुथमा टोलटोलमा कमिटी बनाउनुपर्छ ।’

स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको अध्यक्ष नेपालले बताए ।

‘सबै ठाउँमा उम्मेदवार उठाएको भए योभन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्ने थियौं । २० लाख भोट सजिलै आउने थियो,’ उनले भने, ‘यदि प्रतिनिधिसभा र प्रदेशसभामा २० लाख भोट ल्यायौं भने केही सिट सुरक्षित गर्न सक्नेछौं ।’

उनले मंसिरमा चुनाव हुने सम्भावना रहेकाले अहिलेदेखि नै आआफ्नो कार्यक्षेत्रमा खटिन कार्यकर्तालाई निर्देशन दिए । ‘प्रत्येक कार्यकर्ता जनताको घरघरमा गएर कलम चिन्हको प्रचार गर्नुस्,’ नेपालले भने ।

स्थानीय चुनावमा अत्यधिक भोट बदर भएर आफूहरूले धेरै ठाउँमा हारेको उनले बताए । काठमाडौं महानगरमै ५० हजार भन्दा बढी भोट बदर हुँदा आफ्नो पार्टीका उपमेयर उम्मेदवारले पराजय भोग्नुपरेको उनको दाबी थियो । उनले मतदातालाई राम्ररी प्रशिक्षित गर्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय