कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले फेरि राखे प्रधानमन्त्री बन्ने इच्छा, तर हुँदैन सपना पुरा! 

कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले फेरि राखे प्रधानमन्त्री बन्ने इच्छा, तर हुँदैन सपना पुरा! 

काठमाडौं । हुन त राजनीति भनेको सत्ता र शक्तिमा पुग्नकै लागि गरिन्छ । सबैभन्दा अनुमान गर्न कठिन भनेको राजनीतिक भविष्य नै हो । कहिले कसैले नसोचेको घटना राजनीतिमा भइदिन्छ ।

१० वर्ष सशस्त्र द्वन्द्वमार्फत १७ हजार नेपाली नागरिकले ज्यान गुमाउनुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठूलो हात छ । सोही द्वन्द्वका कारण नेपाल आज पनि अल्पविकसित देशभन्दा माथि उक्लन सकेको छैन । जंगलमा रहेको माओवादीलाई तत्कालीन प्रधानमन्त्री एवं काग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले एमालेको हैसियतमा ल्याइदिए । कोइरालाले गरेको त्यही गल्तीको परिणाम अहिले नेपाल र नेपालीले भोग्दैछन् ।

जब माओवादी संसदीय राजनीतिमा आयो, त्यसपछि नेपालको राजनीतिमा एक अस्थिर राजनीतिक चरित्र बोकेका नेता पुष्पकमल दाहाल प्रचण्डको उदय भयो । १७ वर्ष बितिसक्दा पनि सत्ताको केन्द्रविन्दुमा उनी नै छन् । प्रचण्ड दुई दुईपटक देशको प्रधानमन्त्रीसमेत बनिसके । तर, आफ्नो प्रधानमन्त्रीत्वकालमा प्रचण्डले उल्लेख्य केही गर्न सकेनन् । बरु राजनीतिक नियुक्तिदेखि देशका प्रमुख अंगमा माओवादी नेता कार्यकर्ताको भर्ती भयो ।

स्थानीय तहको निर्वाचनको परिणामले माओवादी तेस्रो राजनीतिक शक्तिमा स्थापित भएको छ । कांग्रेसको बुई नै चढेर सही माओवादीले आफूलाई बलियो शक्ति बनाएको छ । त्यही शक्तिको आडमा अहिले प्रचण्ड आफूलाई फेरि प्रधानमन्त्री बन्ने इच्छा भएको बताउन थालेका छन् । कांग्रेसकै बलमा शक्ति प्राप्त गर्ने र कांग्रेसलाई नै दबाबमा राख्न प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा राखेको जोकसैले पनि नबुझेका होइनन् । प्रचण्डले प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नु र माओवादीका नेता वर्षमान पुनले कांग्रेसले चतुर्याइँ देखाए गठबन्धन तोड्ने धम्की दिनुलाई अर्थपूर्ण मानिएको छ ।

केही दिनयता प्रचण्डको बाक्लो भेटघाट चिनियाँ नेताहरूसँग हुन थालेको छ । हालै उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भिडियो संवाद गरेका छन् । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गर्नु र लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको संवाद हुनुले नेपालमा फेरि पनि चीनले चलखेल गर्न थालेको संकेत गरेको छ । 

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक ठाउँमा ल्याएर निर्वाचनअघि नै सत्तारुढ गठबन्धन तोड्ने चिनियाँ खेल सुरु भइसकेको छ । आगामी निर्वाचनपछि सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र त्यसपछि ओलीलाई प्रधानमन्त्री बनाउने सर्तमा एमाले र माओवादीबीच तालमेलको सम्भावनाबारे सहमतिको प्रयास भइरहेको छ ।

जबकि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीको दौडमा सामेल हुने सार्वजनिक गरिसकेका छन् । यसकारण पनि प्रचण्डले प्रधानमन्त्रीको कार्ड अघि सारेको स्पष्ट छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय