६ महिनामा हुन नसकेका काम तीन हप्तामै सक्ने देउवाको तयाa

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पदाधिकारी मनोनयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूको गठन र भ्रातृ संस्थाहरूको कार्यसमिति निर्माण हुन सकेको छैन । 

दोस्रो कार्यकाल कांग्रेस हाँक्दै गरेका सभापति शेरबहादुर देउवा पछिल्लो ६ महिनामा हुन नसकेका काम अबको ३ हप्ताभित्र टुंग्याउने तयारी गरेका छन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गत असार ६ गते बालुवाटार पुगी सभापति एवं प्रधानमन्त्री देउवालाई पार्टीका आन्तरिक विषयसमेतमा ध्यानाकर्षण गराएका थिए । 

महामन्त्रीद्वयले खासगरी पार्टी संगठनमा हुनुपर्ने नियमित काम नभएकोमा असन्तुष्टि जनाउँदै विधानले निर्दिष्ट गरेका कामहरू कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

त्यसयता सभापति देउवाले थाँती रहेका कामहरू असार मसान्तभित्र सक्ने गरी काम थालेका छन् । सभापति देउवाले पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गरेर कामको थालनी गरिसकेका छन् ।

असार १० गते सभापति देउवालाई विधानको दफा ३६ को उपदफा १ को क बमोजिम उपसभापति पूर्णबहादुर खड्कालाई सो प्रतिष्ठानको प्रमुखमा मनोनयन गरेका हुन् । त्यस्तै पार्टीको विधान एवं केन्द्रीय कार्यसमितिको निर्णयअनुसार स्वतः विघटन भएका २ भ्रातृ संस्थाको अध्यक्ष पनि सोही दिन देउवाले मनोनीत गरे ।

नेपाल किसान संघको अध्यक्षमा गणेश तिमिल्सना र नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा ओमबहादुर घर्ती मगरलाई देउवाले मनोनयन गरे ।यसअघि नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा र नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङ मनोनीत भइसकेका छन् ।

अध्यक्ष तोकिएका चार वटै भ्रातृ संस्थाको कार्यसमिति गठन हुन अझै बाँकी छ । त्यस्तै नेपाल महिला संघ, प्रजातन्त्र सेनानी सघं, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति गठन गर्न बाँकी नै छ ।

सभापति देउवाले निकटस्थहरूसँगको छलफलमा पार्टीमा थाँती रहेका कामहरू असार मसान्तभित्रै सम्पन्न गर्ने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीका अनुसार स्थानीय निर्वाचनका ।कारण ढिलो भएका कामहरू असार मसान्तभित्र सक्ने तयारी छ ।

‘सभापतिजी विलम्ब गर्ने पक्षमा हुनुहुन्न । असार मसान्तभित्र भ्रातृ संस्था, विभाग, पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन्छु भन्नुभएको छ’, चौधरीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय