मध्यपहाडी लोकमार्गको काम छोटो समयमा पुरा हुने जानकारी

बागबागलुङका राजनीतिक दल र सरोकारवालाले मध्यपहाडी लोकमार्गको काम छिटो सक्न र प्रसासनिक समस्या भएमा स्थानीय रुपमा समन्वय गरेर टुंगो लगाउनुपर्ने बताएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको राजनीतिक दल, ठेकेदार र स्थानीय पालिकाका प्रतिनिधिको संयुक्त छलफलमा लोकमार्गको बागलुङ खण्डले सिंगो जिल्लालाई गिज्याएको टिप्पणी गरेका छन् ।
मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाका पर्वत कार्यालय प्रमुख जयलाल मरासिनीले लोकमार्गको बागलुङ खण्ड बढी जीर्ण बनेकोले प्रशासन, राजनीतिक दलसहितको बैठकमा ठेकेदारको प्रतिवद्धता खोजेको बताए ।
कार्यालयले ताकेता गरेपनि ठेकेदारको मुख्य व्यक्ति नआउने, पेटी ठेक्का दिने र समयमा काम नसक्ने प्रवृत्तिले जनता र जनप्रतिनिधि समेतको गुनासो आएपछि संयुक्त छलफल राखेको बताए ।

‘ठेकेदारहरु नआउने र काम समयमा नभएकोले धेरै समस्या आए, आयोजनाप्रति जनताको विश्वासै हरायो’ मरासिनीले भने, ‘अब भने कामकालागि सहजीकरण हुने भएको छ ।’ राजनीतिक दल, प्रशासन र सरोकरवालाको अगाडि ठेकेदारले आगामी साताबाट नियमित काम गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।
बागलुङ देखि अक्षेते खण्डमा ४९ प्रतिशत र बिहुँ खण्डमा ५५ प्रतिशत प्रगती भएको बताइएको छ । दुवै आयोजनाको म्याद भने माघ दोश्रो साता सकिंन लागेको छ । सहभागिले म्याद थपकालागि छलफल राखिएको र फेरी काम नहुने भए ठेक्का तोडेर जान पनि सुझाव दिएका थिए । ठेकेदारले सहज वातावरण भएमा आगामी जेठ मसान्त भित्र काम गर्ने लक्ष सुनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सदस्य चन्द्रबहादुर बुढा, खिमबिक्रम शाही, नेकपा जिल्ला इन्चार्ज बलावती शर्मा, कांग्रेस सभापति दिपेन्द्रबहादुर थापा, नेकपा सचिव ज्ञामनाथ गैह्रे, राजमो अध्यक्ष अमर थापा, संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य चित्र सापकोटा, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा, पत्रकार दिल शिरिष, लगायतले बोलेका थिए ।
कार्यक्रममा मरासिनीले ठेकेदारले काम गरेको आधारमा भुक्तानी दिने, तर उनीहरुले नियमित रुपमा बसेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रम आयोजना पर्वत कार्यालयका इन्जिनियर उज्वल शर्माको संचालन र मरासिनीको स्वागतमा सम्पन्न भएको थियो ।

उक्त अबसरमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले प्रशासनिक समस्या भएमा समाधानकालागि प्रतिवद्धता जनाएका थिए । उनले सुरक्षाको समस्या भएमा प्रहरी खटाएर पनि काम गर्न सकिने भन्दै ठेकेदारहरु कामप्रति इमान्दार हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय