विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी-गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारस्थित महेन्द्र आदर्श नमुना माबिमा विद्यार्थीहरुमा अनौठो खालको समस्या देखिएको छ ।

बिगत ३ दिन अगाडिदेखि विद्यालयमा विद्यार्थीहरुमा बेहोस हुने,स्वासप्रस्वास बढ्ने,धड्कन बढ्ने,डराउने,आत्तिने,कतिपय चिच्याउनेजस्ता समस्या आएको विद्यालयका प्रधानाध्यापक देबिराम शर्माले बताउनुभयो ।
एक्कासी विद्यार्थीहरुमा यस्तो समस्या आएपछि नजिकै रहेको वामीटक्सार स्वास्थ्यचौकीमा लगेर उपचार गरिएको र अवस्था सामान्य भएको बताइएको छ ।
पहिलो दिन उक्त समस्या आएर उपचार गरेपछि अर्को दिन पहिलो दिन समस्या देखिएकाहरुमा निको भएपनि अरु विद्यार्थीमा त्यस्तो समस्या दोहोरिएको हो ।
दुइ दिन लगातार किशोरीहरुमा बेहोस हुने समस्या देखिएपछि मुसिकोट नगर स्वास्थ्य शाखाद्वारा कक्षा ९ का झण्डै १०० जना विद्यार्थीहरुलाइ मनोसामाजिक परामर्श दिइएको नगर स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभयो ।
लगातार दुइ दिन किशोरीहरुमा समस्या देखिएर परामर्श दिएपछि ती किशोरीहरु निको भएर विद्यालयमा पनि आए तर तेस्रो दिन भने छात्रहरुमा पनि यो समस्या आएको र उपचार गरिएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।
गर्मीको समय,खानपान र पानीको आपूर्ति कम हुदा र विद्यार्थी सोचाइमा परेको समयमा यस्तो समस्या आउने भएपनि खास समस्या के हो भन्ने पुष्टि भने नभएको शाखा प्रमुख जिसीले बताउनुभयो ।