कास्की कांग्रेसमा विवाद, जिल्ला सभापतिलाई हटाउन हस्ताक्षर सुरू

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् । सभापति शेरबहादुर देउवानिकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् ।

उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरू भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ ती नेताले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’ स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्यसमितिको बैठकसमेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए ।

‘पार्टी अफिस छ । अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि । सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरू बैठकमा आउनुभएन, आउनुभएकोले पनि हस्ताक्षर गर्नुभएको छैन ।’

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिँडेका बैठकका एक सदस्यले बताए ।

‘होटलमा बैठक राखेको भनेर आलोचना भैरहेको थियो । त्यसमाथि स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ ती नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हार्‍यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए ।

‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’ – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय