­­मन्त्रीबारे बोल्न पनि सक्दैनन् माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिकमन्त्री बनेका प्रेमबहादुर आले अहिले विवादमा छन् । उनको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेको अडियो सार्वजनिक भएको छ ।

तर उनको विषयमा न सरकारले केही बोलेको छ, न उनको दल एकीकृत समाजवादी पार्टीले । आइतबार सम्पादक तथा पत्रकारहरुसँग भएको छलफलमा पनि एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसबारे टिप्पणी गर्न चाहेनन् । ‘मान्छेका बारे सोध्दा जवाफ दिन गाह्रो हुन्छ,’ उनले भने, ‘यति मात्र भन्छु, कुनै पनि कुरा बोल्दा विचार पुर्‍याएर बोल्नुपर्छ ।’

कतिसम्म भने उनी पार्टीबाट भएका मन्त्रीहरुले करिव ८ महिना गरेको कामको समीक्षा गर्न समेत डराए । उनले आफ्नो बाध्यता सुनाए, ‘सन्तुष्ट छु भनौं, त्यो पनि समस्या । सन्तुष्ट छैन भनौं भोलिको समाचार त्यही बन्छ ।’

अध्यक्ष नेपालले ‘कामको समीक्षा गर्नुपर्छ । कमी कमजोरी रहेका छन् भने सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुपर्छ । केके कमजोरी भए भन्ने मसिनो गरी खोतलखातल गर्नुपर्छ र अगाडि बढ्ने आँट गर्नुपर्छ’ भन्ने सैद्धान्तिक तर्क गर्दै प्रश्नलाई टारे ।

मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय समेत बाध्यता भएको उनले बताए । एकीकृत समाजवादीले केही साता पहिले शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको छ । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई मन्त्री बनाउन सिफारिस गरेको एकीकृत समाजवादीले शहरी विकासमा मेटमणि चौधरी, पर्यटनमा जीवनराम श्रेष्ठ, श्रममा गैरसांसद शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।

बाध्यताले गर्दा एक कार्यकाल अर्थात ६ महिनाको निम्ति मात्र मन्त्री बनाएकाले अहिले फेर्न खोजेको अध्यक्ष नेपालले बताए । उनले अघि भने, ‘८ महिना पुगिसकेपछि मन्त्री परिवर्तन गरेका हौं । प्रधानमन्त्री र माओवादीका साथीहरुले हाम्रोभित्र पनि त्यस्ता माग आइरहेको छ भनेकाले एक दुई दिन पर्खिने हुन्छ ।’

उनले बाध्यता के भन्ने खुलाएनन् । तर २ भदौ २०७८ मा एमालेका २३ सांसदको समर्थनमा एमाले विभाजन गरेका थिए । त्यसबेला नै सरकारमा लैजाने आश्वासन दिएर एकीकृत समाजवादीमा ल्याएकाले अहिले मन्त्री बनाउनु परेको र त्यसलाई नै अध्यक्ष नेपालले बाध्यता भनेको हुनसक्ने नेताहरु बताउँछन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको कामप्रति पनि सन्तुष्ट छैनन् । सरकारको पनि निर्मम समीक्षा गर्न सक्ने अवस्था छैन । किनकी आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धन कायम राख्न चाहन्छन् र त्यसकै बलमा चुनाव जित्न चाहन्छन् ।

गठबन्धनकै भर – ३० वैशाखको स्थानीय तहको चुनावमा भएको तालमेलप्रति एकीकृत समाजवादी सन्तुष्ट छैन । स्वंय अध्यक्ष नेपालले हालै स्थायी कमिटीमा पेश गरेको चुनावी समीक्षासम्बन्धी दस्तावेजमा कांग्रेसले दम्भ र माओवादीले अहंकार देखाएको बताएका छन् ।

आइतबार पनि नेता नेपालले स्थानीय चुनावमा गठबन्धन प्रभावकारी हुन नसकेको स्वीकार गरे । एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएका स्थानीय जनप्रतिनिधिलाई समर्थन गर्ने भनिए पनि कार्यान्वयन नभएको, देशभर निश्चित प्रतिशत वा प्रत्येक जिल्लामा उपस्थिति हुने गरी गरौं भदा पनि सहमति नभएको उनले सुनाए ।

अन्तिममा महानगरपालिका र उपमहानगरको प्रमुख र उपप्रमुखमा मात्र केन्द्रबाट निर्णय गर्ने र बाँकी जिल्ला र प्रदेशलाई सहमति खोज्न दिने निर्णय भएको सुनाउँदै उनले भनेका छन्, ‘यो नै घातक भयो । जिल्ला र प्रदेशलाई संगै राखेर टुंगो लगाउनुपर्ने रहेछ ।’

गठबन्धनको भर नपरी पार्टी बनाउने र त्यसको आधारमा सबैतिर चुनाव नलड्नु पार्टीको पनि कमजोरी भएको उनले बताए । स्थानीय चुनावमा भएका कमजोरीबाट सिकेर पाँचदलीय गठबन्धनलाई नै अघि बढाउनुपर्ने उनले बताए ।

६ महिनाभित्र प्रदेश र प्रनितिधिसभा गर्नुपर्ने भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले अघि भने, ‘अब (सिट बाँडफाँट) छिट्टै गर्नुपर्छ । केही मापदण्ड तय गर्न छलफल सुरु गर्नुपर्छ । छिट्टै गरियोस् भन्नेमा हाम्रो बढ्दा ताकेता छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय