अर्घाखाँचीमा कांग्रेसभित्र चुलियो विवाद, स्पष्टीकरण मागिएका नेताहरुले सभापतिलाई नै लगाए दोष

रुपन्देही । अघिल्लो स्थानीय तह निर्वाचनमा एक्लै लडेर जितेका स्थानमा यो पटक पाँचदलीय गठबन्धन गर्दा पनि गुमाउन परेपछि अर्घाखाँची कांग्रेसमा घातअन्तर्घातको विषय सतहमा आएको छ ।

निर्वाचनमा पार्टीभित्रैबाट अन्तर्घात भएको आरोप लगाउँदै कांग्रेस अर्घाखाँचीले २० जना नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेपछि यो विषय थप चर्चामा आएको हो । जेठ २३ गते कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठको निर्देशनमा २० जनालाई कांग्रेसको अनुशासन विभागले ७ दिने स्पष्टीकरण सोधेको थियो । विवाद चुलिँदै गएपछि उनीहरु कसैले पनि स्पष्टीकरण दिएका छैनन् । मंगलबार यही विषयमा छलफल गर्न बैठक बस्न लागेपछि स्पष्टीकरणको पत्र पठाइएका नेता तथा कार्यकर्ताहरुले सभापतिको एकल निर्णयका कारण पार्टीले थप क्षति व्यहोर्नुपर्ने अवस्था आएको बताएका छन् ।

सभापतिको निर्देशनमा कारबाहीमा पर्ने जिल्ला समितिकै पदाधिकारी, सदस्यसहित गाउँस्तरका नेता/कार्यकर्ता रहेकाले यो प्रक्रिया अगाडि बढाउन सभापति श्रेष्ठलाई चुनौतीपूर्ण छ । कारबाहीमा परेका एक सदस्यले भने, ‘सभापतिकै भूमिकामा प्रश्न उठेको छ, उहाँले सन्धिखर्कमा एमालेका मेयर जिताउन लागेको विषय बाहिर आएको छ । नाताले पनि उहाँहरु नजिक हुनुहुन्थ्यो । तर, आफ्नो कमजोरी छोप्न हामीतिर पत्र पठाउन निर्देशन दिनुभएको छ ।’

अहिलेसम्म कसैले लिखित स्पष्टीकरणको जवाफ नपठाएको कांग्रेस जिल्ला उपसभापति एवं अनुशासन विभागका संयोजक विष्णुप्रसाद भुसालले जानकारी दिए । स्पष्टीकरण सोधिएका सबैको अनुसन्धान भइरहेको र जवाफ नदिए वा दिएकाको पनि चित्तबुझ्दो नआएमा कारबाही गरिने जिल्ला सभापति श्रेष्ठले बताउँदै आएका छन् ।

स्पष्टीकरण सोधिएका अधिकांशले व्यक्तिगत इगो, पूर्वाग्रही ढंगले र गुटगतका कारणले स्पष्टीकरण सोधिएकाले यसको जवाफ दिनु नपर्ने बताएका छन् । केहीले अनुशासन समितिले पठाएको पत्र आफूहरुको हातमा नपरेको र विनाकारण कारबाही गरिए कांग्रेसभित्र ठूलो विद्रोह हुने चेतावनी दिएका छन् ।

भूमिकास्थान नगरपालिका–९ ढिकुराका क्षेत्रीय प्रतिनिधि विष्णु मरासिनीले आफूले टिकट नपाए पनि वडाध्यक्षलाई जिताउन लागेको तर नेतृत्वमा हारको मानसिकता र पूर्वाग्रही कुण्ठाकै कारण कारबाहीको सिफारिस गरिएको बताए । यहाँबाट उनीसहित ६ जना कारबाहीको लिस्टमा परेका छन् । उनले कारबाहीको कुरा सुने पनि आफूले पत्र नपाएको बताउँदै यस्ता एकपक्षीय निर्णयले पार्टी थप कमजोर बन्ने दाबी गरे ।

कांग्रेससहितको ५ दलले अर्घाखाँचीमा वडा तहसम्म गठबन्धन गरेका थिए । जिल्लाका ६ स्थानीय तहको १२ पदमध्ये ४ पदमा मात्रै गठबन्धनले चुनाव जितेको थियो । कांग्रेसले दुई पालिकाको प्रमुखमात्रै जित्न सकेको छ । २०७४ मा कांग्रेस एक्लै लड्दा छत्रदेव गाउँपालिकाको दुवै पदमा जितेको थियो । त्यतिबेला अध्यक्षमा कांग्रेसका लेखनाथ पोखरेलले ११०६ मतान्तरले जितेका थिए । अहिले ५ दलको गठबन्धनबाट कांग्रेसकै चन्द्रमान श्रेष्ठले १८२ मतान्तरमा मात्रै चुनाव जितेका छन् । उपाध्यक्ष एमालेले जितेको छ ।

पाणिनीमा ०७४ मा कांग्रेस एक्लै लड्दा जितेको थियो । तर, अहिले ५ दल मिल्दा पनि अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ ।

कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेलले स्पष्टीकरणका लागि हुलाकबाट पठाइएका पत्र अधिकांशले नपाएको आफूले सुनेको स्वीकार गरे । ‘जिल्लामा छलफल गरेर पत्र काटिएको थिएन, कारबाहीमा पर्नेहरुले एकपक्षीय रुपमा मिडियाबाजी गरेको बताएका छन् । मलाई पनि सबै विषय जानकारी छैन । आजको बैठकले कसरी अगाडि जाने भन्ने निचोड निकाल्छ होला’, उनले नेपालप्रेससँग भने ।

२०७४ को चुनावमा १२ मध्ये ३ पदमा मात्रै जितेको एमालेले अहिले ८ पद जितेर पहिलो पार्टी बनेको छ । कांग्रेसको बलियो क्षेत्र मानिएको जिल्ला सभापति केशव श्रेष्ठको छत्रदेव गाउँपालिका–८ को वडामा समेत कांग्रेस पराजित भयो ।

श्रेष्ठसहित कांग्रेस केन्द्रीय सदस्यद्वय मानबहादुर विश्वकर्मा, पुष्पा भुसाल, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वजिल्ला सभापति कमलप्रसाद भुसालसहितका सबै शीर्ष नेताले आफ्नो वडा जिताउन सकेनन् ।

स्थानीय निर्वाचनमा कांग्रेसको नेतृत्वमा रहेका जनमोर्चा केही दिनयता जिल्लाका विभिन्न संघसंस्थामा एमालेसँग गठबन्धन गरेर जान थालेपछि कांग्रेसका नेताहरुमा थप संकट आएको हो । जिल्लामा एमाले, कांग्रेसपछिको शक्तिमा रहेको जनमोर्चाको मत संघ तथा प्रदेश निर्वाचनमा निर्णायक भएकाले पनि उसको भूमिकालाई चासोपूर्वक हेरिएको छ ।

कांग्रेसले केही दिनअघि त्यहाँँको उद्योग वाणिज्य संघमा निर्वाचन बहिस्कार गरेपछि एमाले र जनमोर्चाको गठबन्धन निर्विरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय