दोस्रो शक्तिमा खुम्चिएपछि ओली बनाउँदैछन् यस्तो खतरनाक रणनीति

काठमाडौंं – हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो शक्तिमा खुम्चिएको छ । पाँच वर्षअघिको ठूलो दलको घमण्ड तोडिएपछि एमाले अध्यक्ष केपी ओली अहिले छटपटीमा परेका छन् ।

निर्वाचन सकिएको ठीक एक महिनापछि एमाले चुनावी समीक्षामा जुटेको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्दा ०७४ को विरासत गुमेपछि एमालेले समीक्षासहित आगामी निर्वाचनकेन्द्रित रणनीति तय गर्न सोमबार सचिवालय बैठक बोलाएको छ ।स्थानीय निर्वाचनको मतगणना भइरहेका बेला धाँधली भएको दाबी गरेको एमाले अन्तरघात नै हारको कारण भन्ने चरणमा पुगेको छ । अबको रणनीति बनाउन अध्यक्ष ओली विभिन्न औपचारिक–अनौपचारिक संयन्त्र र भेटघाटमा छन् ।

स्रोतका अनुसार अहिले ओलीले पाँचदलीय गठबन्धन टुटाउन तीनवटा खतरनाक रणनीति तयार गरेका छन् । निर्वाचनमा पराजय व्यहोर्नुको कारणबारे ओलीले देशभरबाट आफैं सूचना संकलन गरेका छन् ।

त्यसलाई आधार बनाएर पार्टीको आन्तरिक समीकरण र भूमिका हेरफेर गर्ने पहिलो रणनीति छ । एमालेले जसरी पनि जित्ने आकलन गरेका भरतपुर र पोखरा महानगरमै अन्तरघात भएपछि ओलीलाई झड्का लागेको छ । संघीय र प्रदेश निर्वाचनमा यस्तै प्रवृत्ति नदोहोरियोस् भनेर उनले पार्टी नेताहकै जिम्मेवारी हेरफेरसम्म गर्ने सोच बनाएका छन् ।

अन्तरघात र नेतृत्वविरुद्धको अभिव्यक्ति कारबाहीको विषय हुन सक्छ भनेर ओलीले पार्टीको अनुशासन आयोगमार्फत स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न लगाएर अन्य नेतालाई पनि सन्देश दिन खोजेका छन् ।

पृथ्वी सुब्बा गुरुङमाथि कारबाही हुने सम्भावना प्रबल छ । ओलीको अर्को रणनीति अहिलेको पाँचदलीय गठबन्धन जसरी पनि भत्काएर निर्वाचनमा जाने छ ।स्रोतका अनुसार ओलीले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा संघीय अध्यक्ष बाबुराम भट्टराईलाई समेत सन्देश पठाइसकेका छन् ।

उनले एकीकृत समाजवादीका झलनाथ खनाल र माओवादीका नारायणकाजी श्रेष्ठलाई फकाउने प्रयत्न जारी राखेका छन् । दुवै नेता अहिलेको गठबन्धनसँग सन्तुष्ट छैनन् ।

पाँचदलीय गठबन्धन भत्काउन नसके अन्य शक्तिलाई समेटेर तालमेलसहित निर्वाचनमा जाने ओलीको अर्को रणनीति छ । नेताहरूका अनुसार त्यसका लागि पनि विभिन्न तहमा अनौपचारिक कुराकानी भइरहेको छ । स्थानीय निर्वाचनमा लोसपा, राप्रपा नेपाल, राप्रपा, परिवार दल, जनमुक्ति पार्टीलगायतसँग विभिन्न ठाउँमा एमालेले तालमेल गरेको थियो ।

संसदीय निर्वाचनमा पनि पराजय व्यहोर्नुपर्‍यो भने धेरै संवैधानिक पद गुम्न सक्ने भय ओलीमा छ । निर्वाचनपछि विपक्षमा बस्नुपरे एमालेले सरकारमात्र होइन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख–उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष पनि गुमाउन सक्छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय