गम्भीर विवादमा अर्थमन्त्री शर्मा : समाचार खण्डन गर्ने कि राजीनामा ?

काठमाडौं । बजेटमाथि अनधिकृत व्यक्तिबाट छेडछाड गराएको सार्वजनिक भएसँगै अर्थमन्त्री जनार्दन शर्मा तीव्र विवादमा तानिएका छन् ।

आज अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार गलत साबित गर्न नसकेमा उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट भाषण हुने अघिल्लो रातमा मन्त्री शर्माले एक पूर्वनासुलाई मन्त्रालयमा घुसाएर करको दर हेरफेर गराएको समाचारमा जनाइएको छ ।

बजेट निर्माणका लागि गठित टिमलाई समेत जिल्याउँदै पूर्वनासु रघुनाथ घिमिरेले निश्चित व्यापारिक घरानालाई फाइदा पुग्ने गरी बजेट चलाएको दाबी समाचारमा गरिएको छ । यति गम्भीर विषय सार्वजनिक भएको घण्टौँसम्म पनि अर्थमन्त्रीले कुनै स्पष्टीकरण दिएका छैनन् ।

स्रोतका अनुसार यति बेला अर्थमन्त्री शर्मा समाचारलाई कसरी ट्याकल गर्ने भनेर निकटस्थसँग छलफल गरिरहेका छन् । तर, सामान्य खण्डन विज्ञप्ति जारी गरेरमात्रै उनले उन्मुक्ति पाउने अवस्था भने छैन ।

सरकारको कुनै ओहदामा नरहेको एउटा मामुली पूर्वकर्मचारीलाई ‘विज्ञ’ भन्दै मन्त्रालयमा घुसपैठ गराइनु र अति संवेदनशील मानिने करका दरहरू हेरफेर गरिनु चानचुने विषय होइन । यसलाई लिएर संसदमा समेत अर्थमन्त्रीको राजीनामा माग भएको छ । शर्माको पार्टी नेकपा माओवादीमा समेत यो समाचारले हलचल पैदा भएको छ ।

करको दरमा गरिएका केही हेरफेरमाथि पहिल्यैबाट प्रश्न उठिरहेका थिए । खासगरी विद्युतीय सवारीसाधनमा लगाइएको भन्सारलाई लिएर अर्थमन्त्रीको आलोचना भएको थियो । विद्युतीय सवारीलाई प्रोत्साहनको कुरा गरिरहेको सरकारले बजेटमा भन्सार ह्वात्तै बढाइदिनु युक्तिसंगत देखिएको थिएन ।

यस्तै स्वदेशी उद्योगीहरूको ढाड भाँच्ने गरी आयातित स्यानिटरी प्याडमा दिइएको भन्सार छुटले पनि आशंका जन्माइरहेको छ । नयाँ बजेटले तारजाली, घ्यू–तेल उद्योग बन्द हुने अवस्थामा पुगेका छन् ।

स्वदेशी उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्नेभन्दा पनि विदेशबाट आयात गर्दा भन्सार घटाउने नीति सन्देहपूर्ण हो । आज प्रकाशित समाचारले विभिन्न उद्योगीसँग ‘सेटिङ’ का आधारमा करको दर हेरफेर गरिएको आशंकालाई बल पुर्‍याएको छ ।

प्रचण्ड-शर्मा भेट – विवादमा आएका अर्थमन्त्री शर्मालाई हिजो माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए । स्रोतका अनुसार प्रचण्डले शर्मालाई आफ्नो निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । करिब एक घण्टाको उक्त छलफलमा प्रचण्डले अर्थमन्त्रीको कार्यशैलीप्रति रोष प्रकट गरेको स्रोतले बतायो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामाको सुझावसमेत दिएको बुझिएको छ ।

अर्थमन्त्री शर्माको सचिवालयले भने माओवादीका केही नेताले नचाहिँदो प्रचारबाजी गरिरहेको टिप्पणी गर्‍यो । सचिवालयका एक सदस्यले भने, ‘केही नेतालाई मन्त्री बन्न हतार भएर जे पनि बोल्दै हिँडेका छन् । यस विषयमा पार्टीले नै आधिकारिक धारणा ल्याउने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय