देउवाको फोनपछि गठबन्धनमा खुले कांग्रेसका बागी चौधरी, गोलाको सम्भावना बढ्यो

कैलाली । गठबन्धनका उम्मेदवारलाई हराएर कैलालीको कैलारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राजसमझ चौधरी आज हुन लागेको जिल्ला समन्वय समिति निर्वाचनमा सत्ता गठबन्धनतिरै उभिने भएका छन् ।

कैलाली जिसस नेतृत्वका लागि कांग्रेस-माओवादी-नेकपा एसको गठबन्धन छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा कैलारी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । कांग्रेसबाटै बागी उम्मेदवार बनेपछि राजसमझलाई कारबाही गरिएको थियो ।

राजसमझले १० हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा गठबन्धनका उम्मेदवार लाजुराम ६ हजार ४ सय ३० मतमा रोकिएका थिए । आफूलाई कारबाही गरेको भन्दै जिल्ला समन्वय समितिको निर्वाचनमा तटस्थ बस्ने घोषणा गरेका राज समझले अन्ततः गठबन्धनकै उम्मेदवारलाई मत दिने भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि उनी गठबन्धनलाई मत दिन तयार भएका हुन् । आफूमाथिको कारबाही फुकुवा नभएसम्म आफूले गठबन्धनका उम्मेदवारलाई मत दिन नसक्ने बताउँदै आएका थिए ।‘मेरो कारबाही फुकुवा भएको छ’ उनले नेपाल प्रेससँग भने ‘सभापति ज्यूले तपाईं नै कांग्रेसको आधिकारिक उम्मेदवार हो भन्नु भयो । अब म गठबन्धनका उम्मेदवारहरूलाई मत दिन तयार भएको छु ।’

हिजो साँझ स्वकीय सचिव भानु देउवा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले राज समझसँग संवाद गरेका थिए । करिब पाँच मिनेटसम्म दुईजनाबीच संवाद भएको बताइएको छ । यो क्रममा देउवाले राजसमझलाई कांग्रेसको उम्मेदवार भएको बताए । देउवाले जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन पनि आग्रह गरेका थिए । पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीबाटै फोन आएपछि गठबन्धनमा मत दिने निर्णयमा पुगेको उनले बताए ।

यस्तो छ जिससको जोड घटाउ – कैलाली जिससको निर्वाचन रोचक हुने देखिएको छ । यहाँ १३ पालिकाका २६ जना मतदाता हुन् । तर, भ्रष्टाचार अभियोगमा विशेष अदालतमा विचाराधीन मुद्दाका कारण मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले चुनावी प्रक्रियामा सहभागी हुन नपाउने निर्वाचन आयोगको निर्णयपछि मतदाता संख्या २५ मा झरेको छ ।

अध्यक्ष उपाध्यायको मतदानसम्बन्धी निर्णय सर्वोच्च अदालतको भर हुने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु बताउँछन् । ‘अहिलेसम्म उहाँले मतदान गर्न पाउनु हुन्न आज १ बजे पेसी छ । फैसलाले थप कुरा निर्धारण गर्छ ।’

उपाध्यायले मतदान गर्न नपाए कैलालीमा २५ जना मतदाता रहन्छन् । २५ जनामध्ये सत्ता गठबन्धनका १२ जना छन् । यहाँ कांग्रेसले ८, माओवादीले मोहन्याल बाहके ३ र नेकपा एकीकृत समाजवादी १ पालिकामा जित हासिल गरेका थिए ।अर्को तर्फ कैलालीमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले तालमेल गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ७ र एमालेका ५ मतदाता जोड्दा उनीहरूको पनि १२ पुग्छ ।धनगढी उपमहानगरपालिकामा स्वतन्त्र जितेका गोपाल हमाल जिसस चुनावमा तटस्थ बस्ने बताइएको छ ।

दलहरूबाट अन्तर्घात नभए, मत बदर नभए र हमाल उम्मेदवार स्वतन्त्र बस्ने अवस्था आए कैलालीमा जिससको नेतृत्व गोला प्रथाबाट चुनिने सम्भावना बढेको छ । – नेपाल प्रेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय