घनश्यामपछि एमालेका यी नेतामाथि कारबाहीको डण्डा चलाउँदै ओली

काठमाडौं – स्थानीय तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा हारेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आफूविरोधी नेताहरूमाथि कारबाही थालेका छन् ।

त्यसको पहिलो सिकार घनश्याम भुसाल भएका छन् । ओलीको आलोचना गरेको भन्दै भुसालमाथि अनुशासन आयोगले कारबाही गरेको हो । जुन विषयले अहिले एमालेमा तरंग सिर्जना गरेको छ । स्थानीय निर्वाचनमा देशभरि भएका अन्तर्घातका रिपोर्ट केन्द्रीय कार्यालयमा पुग्न थालेपछि अध्यक्ष ओलीले ती सबै रिपोर्टलाई बालकोट मगाएर गुपचुप पारिरहेको स्रोतले जनाएको छ ।

‘आफ्ना मान्छेलाई जोगाउनका लागि रिपोर्टहरू नै नष्ट पारिँदैछ’, एमाले स्रोतले भन्यो, ‘१० बुँदे पक्षधरमध्ये दुई–तीनजनाबाहेकलाई पन्छाउनुपर्ने उनको एकसूत्रीय अभ्यास छ ।’ घनश्यामपछि ओलीले पृथ्वीसुब्बा गुरुङसहित केही १० बुँदे पक्षधर नेतालाई कारबाही अगाडि बढाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

पोखरा महागरपालिकाको निर्वाचनमा अन्तर्घातबारे त्यहाँका नेता खगराज अधिकारीले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र केन्द्रीय सदस्य विष्णु रिजालविरुद्ध उजुरी गरेका छन् । त्यस्ता उजुरी झापा, सुनसरी, मकवानपुर, रुपन्देही, कैलाली, कञ्चनपुरबाट पनि आएका छन् । आरोपितहरू प्रायः ओलीपक्षीय छन् । तर, ती उजुरीहरू नष्ट गर्ने काममा बालकोटको सक्रियता बढेको छ ।

आफूपक्षीय नेतालाई जोगाउँदै विरोधीमाथि कारबाहीको डण्डा चलाउन ओलीले अनुशासन आयोगलाई निर्देशन दिइसकेको बुझिएको छ । पोखरा महानगरमा एमाले उम्मेदवार कृष्ण थापा पराजित हुनुमा पृथ्वी सुब्बा गुरुङको प्रमुख हात रहेको ओली पक्षले आरोप लगाउँदै आएको छ । थापाअघि त्यहाँको मेयरमा दिपक पौडेललाई उम्मेदवार बनाइएको थियो ।

तर पौडेललाई सिक्री चोरेको आरोप लगाउँदै उनको टिकट खोसियो । पौडेल पृथ्वी सुब्बा पक्षका नेता हुन् । पृथ्वी सुब्बा पछिल्लो समय माधवकुमार नेपाल समूहसँग एकता गर्नुपर्ने पक्षमा छन् । माधव पक्षसँग लचिलो भएकै कारण ओलीले घनश्यामको राजनीति सिध्याउन लागेका छन् । अब पालो पृथ्वी सुब्बाको रहेको एमाले स्रोतले बताएको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय