यस्तो बन्यो गुल्मीको रेसुङ्गा विमानस्थल

 गुल्मी । रेसुङ्गा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको टर्मिनल भवन र धावनमार्गको काम लगभग सकिएको छ भने टावर निर्माणको काम अझै बाँकी छ ।

हाल विमास्थलमा वरिपरि टेवा पर्खाल, धावन मार्गको कालोपत्रे, वाह्य ढल निर्माण, टर्मिनल भवन निर्माण र रनवे मार्किङ लगायतका काम सकिएको छ । २०६३ सालदेखि निर्माण सुरु भएको विमानस्थलमा सिभिल निर्माणको काम सकिएको रेसुङ्गा विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियाले बताए ।

२०७५ सालको जेठ महिनामा तारा एयरले परीक्षण उडान गरेपछि अब विमानस्थल सञ्चालनमा आउला भन्ने आशा थियो । तर पटक-पटकको प्रतिवद्धता हुँदा पनि नियमित उडान भने हुन सकेको छैन ।

विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए यहाँका नागरिकहरू स्तरीय स्वास्थ्य सेवा लिन दुःख पाउनु नपर्नेस्थानीय मणि पाण्डेले बताए ।

गुल्मी जिल्ला धार्मिक तथा पर्यटकीय क्षेत्रहरू धेरै रहेकाले विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा आए आन्तरिक तथा बाहृय पर्यटकहरू भित्रिने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए ।

उनले निर्माण कम्पनीले समयमै काम नसक्नुले विमानस्थल बन्दैन भन्ने आशंका स्थानीयमा उब्जाएको बताए । तर अब निर्माणको काम सम्पन्न भए पनि प्राविधिक कामहरू पूरा गरेर सञ्चालनमा ल्याउनुपर्नेमा पौडेलले जोड छ ।

जिल्लामा स्वास्थ्य सेवाको पहुँच नहुदाँ गुल्मीमा विमानस्थल महत्वपूर्ण रहेको स्थानीय सीता बिकले बताइन् । उनले छिटो संचालनमा ल्याउन सकेमा स्वास्थ्य सेवा लिन सहज हुने बतायन् ।

रेसुङ्गा विमान स्थल धावनमार्गको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा फैलिएको विमानस्थलमा हालसम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भइसकेको रेसुङ्गा विमानस्थल गुल्मीका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।

२०६३ सालमा रेसुङ्गा विमान स्थलको शिलान्यास संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । तर ०६३ सालमा शिलान्यास भए पनि विमानस्थलको निर्माणको काम २०७२ सालपछि मात्र सुरु भएको परियारले बताए ।

कोरोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाइ भएको आयोजनाले जनाएको छ । रेसुङ्गा विमानस्थल निर्माणको लागि मुआब्जा दिने गरी १४ घर बस्ती विस्थापित र २८ घर परिवारको जग्गा अधीग्रहण गरिएको छ ।

सम्बन्धित निकायबीच सहकार्य गरेर छिटोभन्दा छिटो उडान गर्ने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले बताए । निर्माण व्यवसायिका कारण निर्माण कार्यमा ढिला भए पनि उडान गर्ने कार्यमा ढिलाइ गर्न नहुने बताए ।

यस वर्षको वैशाखमा नियमित उडान गर्ने भनिएता पनि निर्माण कम्पनीको ढिलाइका कारण उडान हुन सकेको छैन् ।- अनलाइनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय