सवारी दुर्घटना हुँदा दुई वडाध्‍यक्षसहित ८ जना घाइते

वीरगञ्ज । मकवानपुरको गढी गाउँपालिका– २ जीपलाइनमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं २९ र ३० का नव निर्वाचित वडा अध्यक्षहरु क्रमशः ३२ वर्षीय मनोज कुमार यादव र ५२ वर्षीय धर्मेन्द्रप्रसाद महतो थारुसहित ८ जना घाइते भएका छन् । घाइते धमेन्द्रको बायाँ गाला र बायाँ हातमा सामान्य चोट लागेको छ भने मनोजको दायाँ कुममा चोट लागेको छ ।

यस्तै घाइते हुनेहरुमा वडा नं २४ का वडा सदस्य ३० वर्षीय सद्दाम हुसेन आलम, वडा नं २५ का वडा सदस्य ३१ वर्षीय जगदिश साह र वडा नं ३२ की दलित महिला सदस्य ३१ वर्षीया पुजादेवी राम पनि घाइते भएकी छिन् । उनीहरुको निधार, टाउको, गाला, हातमा चोट लागेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार दुर्घटनामा चालक वीरगञ्ज–२० बस्ने भानु यादव, वडा नं १७ का श्रवण यादव, वीरगञ्ज– २४ बस्ने ४० वर्षीय सन्त यादव पनि घाईते भएका छन् । सवारी चालक भानु भने दुर्घटनापछि फरार छन् ।

शुक्रबार बिहान साढे १ बजे जीपलाइनस्थित कान्तिलोकपथ सडकखण्डमा गढी दरबारतर्फबाट आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप अनियन्त्रितत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीहरुको उद्दार गरेर उपचारका लागि चुहेहिल अस्पताल हेटौंडामा पठाईएको थियो । पछि चुरेहिलले थप उपचारका लागि भरतपुर रिफर गरिदिएको थियो ।

वीरगञ्ज महानगरपालिकामा शुक्रबार हुने कार्यपालिकाको निर्वाचनका लागि उनीहरु वीरगञ्ज जाँदै थिए ।

कार्यपालिका निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका नव निर्वाचित १ सय ६२ जना जनप्रतिनीधिले मतदानमा सहभागी हुन पाउँछन् । ५ जना महिला र ३ जना दलित वा अल्पसंख्यक गरी ८ जना कार्यपालिका सदस्यका लागि निर्वाचन भईरहेको छ ।

५ जना महिला सदस्यका लागि १० जना र ३ जना दलित वा अल्पसंख्यक सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ । बिहान १० बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले तोकिएको समयभित्र मतदान प्रक्रियामा सहभागी नभएको खण्डमा मत खसाल्न नपाउने जानकारी दिए ।

‘ दुर्घटनामा परेर २ जना चितवनको भरतपुर मेडिकल कलेजमा र एक जना वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ । भन्ने जानकारी मलाई पनि आएको छ ।’ उनले भने ‘ अस्पताल लगेर मतदान गराउन मिल्ने कानुनी व्यवस्था छैन, मतपत्र बाहिर लैजान मिल्दैन । एम्बुलेन्समा लिएर आउँदा एकाघरका सदस्यको सहयोगमा मतदान प्रक्रियामा सहभागी गराउन सकिन्छ । ’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय