भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कोशलटारमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
काठमाठमाडौंतर्फ आउँदै गरेको बा८च ४७५६ नम्बरको कार अनियन्त्रित भई सडकबीचको फलामको रेलिङमा ठोक्किएर शनिबार राति करिब १ बजे दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
दुर्घटनामा काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको परिसरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।अचेत अवस्थामा उद्धार गरी मध्यपुर अस्पताल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेको डीएसपी गिरीले बताए ।
दुर्घटनामा कार चालक मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की, वडानम्बर ५ राधेराधेका २६ वर्षीय विजय देउजा र भक्तपुरको सूर्यविनायक -४ गाम्चा का २७ वर्षीय सुदप थापा सामान्य घाइते भएका छन् ।
सामान्य घाइते भएका चालकसहित ३ जनाले मृतक रियालाई दुर्घटनास्थलमै छोडेर भागेका थिए । उनीहरुलाई बिहानमात्रै नियन्त्रणमा लिइएको डीएसपी गरीले जानकारी दिए ।
परिसरले घटनाको थप अनुसन्धान सुरु गरेको छ ।