कसले गर्‍याे प्रचण्ड-माधवलई प्रधानमन्त्रीको अफर ?

काठमाडौं । सत्ता गठबन्धनका दुई शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पालैपालो कांग्रेसलाई हच्काउने किसिमका अभिव्यक्ति दिएपछि सत्ता राजनीतिमा खैलाबैला मच्चिएको छ ।

प्रचण्डले कांग्रेसलाई पनि एमालेको जस्तै हालतमा पुर्‍याइदिने धम्कीमात्र दिएनन्, गठबन्धन टुटाउन आफूलाई प्रधानमन्त्रीको अफर आएको बताए ।त्यसलगत्तै माधव नेपालले पनि आफूहरुलाई प्रधानमन्त्रीको अफर आएको भन्दै तत्काल एमालेसँग नमिल्ने र प्रधानमन्त्रीको प्रलोभनमा नफस्ने अभिव्यक्ति दिए । चुनावलगत्तै दुई वामपन्थी नेताबाट आएको अभिव्यक्तिमा कांग्रेसले कुनै प्रतिक्रिया दिइसकेको छैन । तर, गठबन्धनमा बा र्गेनिङ सुरु भएको भने प्रस्ट देखिन्छ ।

चुनावी गठबन्धनबाट कांग्रेसले फाइदा लिएको दाबी अन्य दलहरुको छ । जबकि कांग्रेस भने आफूहरुको सहयोगबाट अरुले यतिका सिट जित्न सकेको निष्कर्षमा छ । यथार्थ चाहिँ गठबन्धनबाट तुलनात्मक रुपमा जनता समाजवादी पार्टीबाहेक अन्य चारवटै पार्टीले गच्छेअनुसार लाभ लिएका छन् । उनीहरुले जितेका सिटमा गठबन्धनको कम्तिमा ५० देखि ६० प्रतिशत सहयोग छ ।

गठबन्धनसँगको प्रतिस्पर्धामा विगतका भन्दा ८९ पालिका प्रमुख गुमाएको एमालेले साँच्चिकै फेरि वाम गठबन्धनको पासा फालेको हो त ? के आफैबाट अलग्गिएका प्रचण्ड र माधव नेपाललाई केपी अ‍ोलीले प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् ? प्रचण्ड-माधवले अमूर्त रुपमा यो कुरा उठाए पनि एमालेको अनौपचारिक स्रोतबाट यसको पुष्टि भएको छैन ।

प्रचण्ड-माधवको अभिव्यक्तिबारे सोध्दा एमालेका एक नेताले यसो भने- गाउँघरतिर व्यंग्यात्मक उक्ति छ ‘मलाई समाउने भए समाऊ नत्र फलानोलाई कुट्छु’ अहिले प्रचण्ड-माधव त्यही शैली अपनाउन थालेका छन् । एमालेले उनीहरुलाई पुछोस् कि नपुछोस् मतलब छैन । तर, प्रधानमन्त्रीको अफर आयो भन्दै आफै प्रचार गरेर कांग्रेसलाई तर्साउन खोजिरहेका छन् । यो भनेको त्यही उक्ति जस्तै हामीलाई भाग दिने भए देऊ नत्र एमालेतिर जान्छौं ।

स्वाभाविक रुपमा एमाले अहिलेको गठबन्धन टुटाउन चाहन्छ भन्ने प्रस्ट छ । कम्तिमा चुनावी गठबन्धन नहोस् र एक्लाएक्लै प्रतिस्पर्धा होस् भन्ने एमालेको चाहना थियो । तर, स्थानीय चुनावमा उसको चाहनाविपरीत धेरै ठाउँमा गठबन्धन भयो । गठबन्धनकै कारण एमालेले कम्तिमा एक सय पालिका हारेको यथार्थ हो । तर, एमाले प्रचण्ड-माधवलाई प्रधानमन्त्रीकै अफर गर्ने ठाउँमा पुगिसकेको छैन ।

पहिलो कुरा त अहिलेको सरकार संविधानको धारा ७६ (५) बमोजिम सर्वोच्च अदालतको परमादेशबाट बनेकाले यो सरकार ढालेर अर्को प्रधानमन्त्री बन्ने कुरामा संवैधानिक विवाद छ । दोस्रो कुरा कांग्रेस छाडेर प्रचण्ड-माधव एमालेतिर लाग्ने अवस्था पनि बनिसकेको छैन । यो भनेकाे एकले अर्कोलाई दबाबमा राख्ने रणनीतिमात्र हो ।

के भन्छ एमाले ? – सत्ता राजनीतिमा एमाले अध्यक्ष केपी ओलीको तर्फबाट कार्ड खेल्न सिपालु मानिने उपाध्यक्ष विष्णु पौडेल ५ वर्षअघि एमाले-माओवादी मिलाउने प्रमुख सूत्रधार थिए । के यसपटक पनि चुनावी नतिजा कमजोर बनेसँगै पौडेल वाम गठबन्धनमा सक्रिय भएका हुन् ? यसबारे प्रश्न गर्दा पौडेलले ठाडै अस्वीकार गरे ।

उनले दक्षिणपन्थको घोडामा सवार भएका प्रचण्ड-माधवको यात्रामा एमाले बाधक नबन्ने भन्दै जहाँसम्म पुग्न चाहेका हुन्, उनीहरुलाई त्यहाँसम्म पुग्न दिनुपर्ने पक्षमा आफूहरु रहेको बताए । उनले अहिले वाम गठबन्धन वा प्रधानमन्त्रीको अफर गरेको भन्ने हल्ला माओवादी र नेकपा एस आफैले चलाएको दाबी गरे ।

आफूले आफैलाई प्रधानमन्त्री अफर गर्ने र एमालेले गरेको भनेर ‘रेडिमेड स्क्रिप्ट’ मिडियाबाजी गर्ने काम भइरहेको भन्दै एमालेले प्रचण्ड-माधवका दाबी खारेज गरेको छ । पौडेलले नेपालप्रेससँग कुरा गर्दै एमालेबाट कुनै प्रस्ताव अनौपचारिक रुपमा पनि नगएको र निकट भविष्यमा त्यो सम्भावना पनि नरहेको बताए ।

पौडेलले भने- एमालेले प्रचण्ड-माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन । केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरुको प्रस्ताव त हामीले अस्वीकार गरेका हौं भने अहिले एमालेले उहाँहरुलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन । एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजीमात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौं ।

आउने प्रदेश र संघीय चुनावमा कांग्रेससँग बढीभन्दा बढी सिट बार्गेनिङ गर्न प्रचण्डले विभिन्न ढंगले धम्क्याउने र एमाले देखाएर तर्साउने प्रयास गरिरहेको पौडेलको दावी छ । एमसीसी विवादका बेला प्रचण्डले अ‍ोलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राख्दासमेत अस्वीकार गरेको एमालेले अरुलाई प्रस्ताव पठाउने कुरा सम्भव नै नभएको नेताहरुको भनाइ छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय