जित निश्चित भएपछि बालेनले भने- विजयोत्सव नमनाउँ, वास्तविक परीक्षा अब सुरू हुन्छ

काठमाडौं । काठमाडौं महानगरमा आफ्नो जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेनले मतदाताहरूलाई धन्यवाद दिएका छन् । उनले यस परिणामलाई जित-हारका रूपमा नलिन आह्वानसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले सो आह्वान गरेका हुन् । अहिलेको जित-हारलाई मतगणना सकिएसँगै बिर्सिदिन भन्दै उनले घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिनमात्रै विजयउत्सव मनाउने बताएका छन् । ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं,’ बालेनले भनेका छन् ।

उनले ठाउँठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने सुनिएको भन्दै त्यस्तो दु:ख नगर्न आग्रह गरेका छन् । हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिने आफूहरू खुसी हुने उनको भनाइ छ । ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली गर्नु होला’ बालेनले भनेका छन् ।

उनले अबको बाटो समय नभएको र अभियानको वास्तविक परीक्षा अब सुरू हुने बताएका छन् । ‘हामीले हिड्ने सही बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ’ उनले भनेका छन् ।

यो पनि पढ्नुहोस् काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जित हासिल गरेका छन् । मतगणना जारी रहँदै बालेनले जित पक्का गरेका हुन् ।

प्राप्त पछिल्लो विवरण अनुसार बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २०१९६ मतको अग्रता लिएका छन् । जबकि अब काठमाडौंको १९६४९ मत मात्रै गन्न बाँकी छ । अबको गणनामा कुनै भोट आएन भने पनि नतिजामा फरक पर्ने छैन ।

काठमाडौंमा कुल १ लाख ९१ हजार १८६ भोट खसेको थियो । त्यसमध्ये बालेनले करिब ४० प्रतिशत भोट ल्याइरहेका छन् । काठमाडौंमा स्वतन्त्र व्यक्ति मेयर निर्वाचित भएको पहिलोपटक हो । यस अर्थमा बालेनले इतिहास रचेका छन् ।

बालेन भारी मतान्तरले विजयी हुँदा दोस्रो स्थानमा को आउँछ भन्ने अझै निधो भएको छैन । कांग्रेसकी उम्मेदवार सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा झिनो मतान्तरले अगाडि छिन् । अन्तिम नतिजा आउँदासम्म उनीहरुमध्ये एकजना दोस्रो स्थानमा हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय