कांग्रेस र माओवादीले गठबन्धनको फाइदा लिँदा घाटामा जसपा, जनमोर्चालाई सान्त्वना

रुपन्देही । लुम्बिनी प्रदेशको १२ जिल्लाका १०९ पालिकामध्ये बहुमत तहमा सत्तारुढ पाँच दलले चुनावी गठबन्धन गरेका थिए । अघिल्लो निर्वाचनमा एमालेले जितेका पालिकामा सत्तारुढ पाँच दलले बलियो गठबन्धन गरेका थिए ।

एमाले कमजोर भएका पालिकामा उनीहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णयसहित चुनावी मैदानमा होमिएका थिए । तर, गठबन्धनको केन्द्रको निर्णय लत्याएर केही जिल्लाका केही पालिकामा नेपाली कांग्रेस र माओवादीले प्रमुख प्रतिपक्षी एमालेसँग चुनावी तालमेलसमेत गरेका छन् । जसको फलस्वरुप केही पालिकामा उनीहरुले नेतृत्वसमेत हात पारेका छन् ।

अघिल्लो निर्वाचनमा एमालेभन्दा १० पालिका कम जितेको कांग्रेसले यसपटक करिब दोब्बर संख्या हात पारेको छ । उसले अहिलेसम्म ४६ पालिकामा जित निकालेको छ । नतिजा आउन बाँकी ३ पालिकामध्ये २ वटामा अग्रता लिएको छ । ०७४ मा माओवादीले १९ पालिकामात्रै जितेको थियो । २०७४ सालमा ४३ पालिका जितेर लुम्बिनीमा पहिलो भएको एमाले यसपटक २६ पालिकामा सीमित भएको छ ।

अघिल्लो पटकभन्दा सांगठनिक रुपमा कमजोर आंकलन गरिएको माओवादी केन्द्रले गठबन्धनको साहारामा २५ पालिकामा जित निकालेको छ । जनता समाजवादी पार्टी ९ पालिकाबाट ३ वटामा खुम्चिन पुगेको छ । उसले गठबन्धनबाट पार्टीलाई २५ प्रतिशत घाटा लागेको बताएको छ । ४ वटा वडाध्यक्ष र १२ जना वडा सदस्यमात्रै जितेको नेकपा एकीकृत समाजवादीले गठबन्धनमा आवद्ध कांग्रेस र माओवादीले अरु सहयात्री दललाई साथ नदिएको आरोप लगाएको छ ।

एमालेविरुद्ध गठबन्धन गरिए पनि उसैसँग कतिपय स्थानमा माओवादी र कांग्रेसले चुनावी तालमेल गरेर गठबन्धनविरोधी चरित्र देखाएको जनमोर्चाको आरोप छ ।

साना दलको आरोपमा के भन्छन् कांग्रेस र माओवादी ?
कांग्रेस र माओवादीले पाँच दलीय गठबन्धनको केन्द्रको निर्देशनविपरीत पूर्वी रुकुम, रोल्पा, गुल्मी, प्यूठानका केही पालिकामा एमालेसँग गठबन्धन गरेका थिए । जसविरुद्ध गठबन्धनमा आवद्ध ३ साना दल आक्रोशित छन् ।

सत्ता साझेदार नेकपा एसले प्रदेशका कुनै पनि पालिकामा प्रमुख तथा उपप्रमुख जित्न सकेन । उसले सहयात्री दललाई साथ नदिएर आफ्नो सिट संख्यामात्रै सुरक्षित गरेर कांग्रेस र माओवादीले गठबन्धनविरोधी चरित्र देखाएको आरोप लगाएको छ । नेकपा एसका केन्द्रीय नेता एवं लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले गठबन्धनबाट अपेक्षा गरिएभन्दा निकै फरक नतिजा आएको बताए ।

‘कांग्रेस र माओवादी गठबन्धनको आवश्यकता र भविष्यका बारेमा गम्भीर नै भएनन्, उनीहरु आफ्नो सिट संख्या बढाउने गरीमात्रै लागे । सहयात्री दलप्रति जिम्मेवार नै भएनन्’, उनले भने, ‘माथि गठबन्धन भएर वडास्तरमा गठबन्धनको चासो दिइएन । कुनै ठाउँमा आफ्नो सिट लिनलाई एमालेसँग पनि गठबन्धन गरे । यसले गर्दा नतिजा सोचेजस्तो नआएको हो ।’

त्यसैगरी जसपाले कांग्रेस र माओवादी गठबन्धनमा इमानदार नबन्दा र अरुको अस्तित्व स्वीकार नगर्दा आफ्नो पार्टीलाई २५ प्रतिशतभन्दा बढी घाटा लागेको जनाएको छ ।

जसपा लुम्बिनी महासचिव यज्ञ पोखरेलले भने, ‘जसपालाई पहाडमा गठबन्धन नै गराइएन, तराईका केही पालिकामा मुख्य पदमा गरिए पनि अन्य पदमा लडाइयो । गठबन्धनका ठूला दल इमानदार भएनन् । मैले त पहिल्यै भनेको थिएँ, यो गठबन्धनले जसपालाई ठूलो घाटा लाग्छ भनेर ।’

पोखरेलले अहिलेको नतिजाले नागरिकले विकल्प खोजेको संकेत आएको, स्थानीय तहलाई दलविहीन बनाएर संघीयमा प्रत्यक्ष निर्वाचन प्रणाली नअपनाए परम्परागत दलको अस्तित्व सकिने जिकिर गरे । जनमोर्चाले ठूला दलले जसरी पनि आफ्नो सिटमात्रै सुरक्षित बनाउने नाममा कतिपय पालिकामा एमालेसँग नै गठबन्धन गरेर खराब चरित्र देखाएको आरोप लगाएको छ ।

राजमोका लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले ठूला दलले जसरी पनि चुनाव जित्ने नाममा केन्द्रको भावनाविपरीत एमालेसँग नै गठबन्धन गर्दा पार्टीले सोचेजस्तो नतिजा नआएको बताए । ‘केन्द्रले एमालेलाई प्रतिगमनको मतियार भनेर गठबन्धन बनाएको छ, यहाँ केही पालिकामा उसैसँग गठबन्धन गरे माओवादी र कांग्रसले, यस्तो पनि हुन्छ र ? राजनीतिमा इमानदारिता नै देखिएन’, आलमले भने ।

माओवादी केन्द्रले प्रदेशका सबै पालिकामा गठबन्धन नभएको र भएका पालिकामा नतिजा राम्रो आएको जनाएको छ ।

माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले भने, ‘सबै पालिकामा गठबन्धन भएको थिएन । भएका ठाउँमा नतिजा राम्र्रै आएको छ । केही पालिकामा कांग्रेसले अस्तित्व स्वीकार नगर्दा अन्य दलसँग पनि गठबन्धन भएको छ । रुकुम र रोल्पामा हामी बलियो भएको स्थानमा कांग्रेसले एमालेसँग नै गठबन्धन गरेर गयो । हामीले पनि मिल्दै नमिलेपछि गुल्मी र प्यूठानका केही पालिकामा एमालेसँग गठबन्धन गरेका हौं । सबैको सहभागिता भएको छ । नेकपा एसले अलिकति ल्याउन सकेन । त्यसको समीक्षा गर्नुपर्छ ।’

स्थानीय निर्वाचनमा कसैको हार नभएको दावी गर्दै उनले एमालेको अहंकार र दम्भलाई मात्रै केही कम बनाएको टिप्पणी गरे ।

कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले गठबन्धनबाट राम्रो नतिजा आएको बताए । ‘राजनीतिमा सधैँ आफ्नोमात्रै संख्या आएन भनेर हुँदैन, गठबन्धन दलमा रहेका दलले कांग्रेसलाई मात्रै सहयोग गरेन भनेर हुँदैन, एमालेबाहेक आएको परिणाम गठबन्धनको बलमा आएको हो भनेर नि बुझ्नुपर्दछ’, उनले भने, ‘गठबन्धनको आवश्यकता थियो र भयो, नतिजा राम्रो आएको छ । हिजो कांग्रेसको संख्या कम थियो, अहिले थपिएको न हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय