यी हुन एमालेका जब्बर किल्ला जहाँ कांग्रेसले ३० वर्षदेखिको विरासत भत्कायो

काठमाडौं – नेपाली कांग्रेसले यसपटक एमालेका धेरै किल्ला भत्काएको छ । ३० वर्षदेखिका एमाले किल्ला समेत तोडेको छ । हेटौडा, दोलखा, बुटवल, झापा जस्ता स्थानका कांग्रेसले सानदार जित हासिल गरेको छ ।

०४९ देखि ०७४ सम्म कांग्रेस एक्लै वा गठबन्धन बनाएर चुनाव लड्दा पनि हेटौँडामा एमालेलाई हल्लाउन सकेको थिएन । तर, ३० वर्षपछि यसपालि एमालेले हेटौँडा उपमहानगरको नेतृत्व गुमाएको छ । एमालेबाटै फुटेर बनेको एकीकृत समाजवादी पार्टी जसलाई एमाले अध्यक्ष केपी ओलीले चानचुने आँटेका थिए, उही दलको उम्मेदवारले एमाले ‘गढ’मा झन्डा गाडेकी छिन् ।

कांग्रेस र माओवादीको साथ पाएकी एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले एमालेका अनन्तप्रसाद पौडेललाई दुई हजार एक सय ६७ मतान्तरले पराजित गरेकी हुन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश बानियाँले एमालेकै सुमित्रा काफ्लेलाई आठ हजार ६ सय ८४ मतान्तरले हराए ।

३० वर्षदेखि यहाँ एमालेले नै मेयर र उपमेयर जित्दै आएको थियो । ०४९ को स्थानीय निर्वाचनमा तत्कालीन हेटौँडा नगरपालिका छँदा एमाले र कांग्रेस एक्लाएक्लै चुनावी मैदानमा थिए ।एमालेबाट मेयरका उम्मेदवार डोरमणि पौडेल र उपमेयरका उम्मेदवार हरिबहादुर महतसँग भिडाउन कांग्रेसले क्रमशः ईश्वर अधिकारी र इन्द्रबहादुर श्रेष्ठलाई मैदानमा उतारेको थियो ।

तर, एमालेकै उम्मेदवार विजयी भए । बुटवल उपमहानगरपालिका पनि एमालेकै ‘गढ’ थियो । ०५४ र ०७४ को निर्वाचनमा एमालेले बुटवलमा निकालेको सानदार जितले अन्य दल झस्किने अवस्था थियो ।तर, यसपालि यहाँ पनि एमालेको दबदबा खलबलियो । राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन गरेर मैदानमा उत्रिएको एमाले सत्तागठबन्धनसँग मेयरमा भारी मतान्तरले पराजित भयो ।

कांग्रेसका खेलराज पाण्डेयले एमालेका बाबुराम भट्टराईलाई सात हजार पाँच सय ३१ मतान्तरले हराएका हुन् । एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवल उपमहानगरको मेयरमा मात्रै होइन, ११ वडा पनि कांग्रेसले जितेको छ । ०७४ मा १६ वडा जितेको एमाले यसपालि पाँच वडामा खुम्चिन पुगेको छ ।

जब कि वडा तहमा पूर्ण गठबन्धन थिएन । केही वडामा कांग्रेस र माओवादीले मात्रै तालमेल गरेका थिए । एमालेले भने राष्ट्रिय जनमुक्ति पार्टीसँग वडातहसम्म नै तालमेल गरेको थियो ।सत्तागठबन्धनबाट माओवादी र एकीकृत समाजवादीले एक–एक वडा जितेका छन् । एउटा वडामा कांग्रेसका बागी उम्मेदवारले जितेका छन् ।

सत्तागठबन्धन दलले सबै वडामा तालमेल गरेका हुन्थे भने एमालेले १० र १४ नम्बर वडा मात्रै जित्ने मतपरिणामले देखाएको छ । एमाले अध्यक्ष ओलीले भक्तपुरमा व्यवसायी दुर्गा प्रसाईंले खोलेको तरकारी बजार उद्घाटन गर्दै १६ चैतमा भनेका थिए, ‘एउटा तराजुमा एक–एक केजीका पाँचवटा ढक एकातिर राख्नुभयो, अर्कोतिर क्विन्टलको ढक राख्नुभयो भने के हुन्छ ? एमाले क्विन्टल हो, गठबन्धन एक–एक किलोका ढक हुन् ।

त्यो पाँच दलको गठबन्धनले के गर्छ ?’ त्यसको ठीक १५ दिनपछि भएको मतदानको नतिजाले ओलीकै गृहनगर झापाको दमक नगरपालिकामा एमालेको तीन दशक पुरानो बिरासत ढल्यो ।

प्रजातन्त्र पुनस्थापनापछि एमालेले बनाएको ‘लालकिल्ला’ यसपालि कांग्रेस, माओवादी र राप्रपाबीच भएको गठबन्धनले भत्काइदियो । गठबन्धनबाट मेयरका साझा उम्मेदवार राप्रपाका रामकुमार थापाले एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारीलाई पाँच सय ५९ मतान्तरले पराजित गरेका हुन् ।

दमकमा हारको इतिहास बनाएका थापाले जितको इतिहास बनाएको एमालेलाई यसपटक हार चखाए । बाँकेको कोहलपुर गाविस हुँदादेखि नै एमालेले जितेको थियो ।०५१ र ०५४ मा गाविस अध्यक्ष जितेका एमालेका लुटबहादुर रावतले ०७४ मा कोहलपुर नगरपालिका बनेपछि पनि मेयर जिते । ०७४ मा कांग्रेसका भानुभक्त भट्टराईलाई मात्र ८३ मतले पराजित गरेका थिए ।

तर, यसपालि एमालेको शक्तिमा धावा बोलेका कांग्रेस युवा नेता पूर्णप्रसाद आचार्यले जितसमेत निकाले । थारू बाहुल्य कोहलपुरमा यही समुदायको मत निर्णायक मानिन्छ । विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) समाहित भएपछि कोहलपुरमा कांग्रेसले शक्ति फर्काएको थियो ।०७४ मा फोरम (लोकतान्त्रिक)का फुलाराम थारूले दुई हजार तीन सय तीन मत ल्याएका थिए । उता, माधव नेपालले एकीकृत समाजवादी पार्टी गठन गरेपछि एमाले भने कमजोर बनेको थियो ।

यसपालि कांग्रेस र एमाले एक्लाएक्लै भिडेकामा कांग्रेसका आचार्यले मेयरमा एमालेका खिलप्रसाद भुसाललाई एक हजार नौ सय २९ मतान्तरले हराए । उपमेयरमा पनि कांग्रेसकै संगीता सुवेदी एमालेकी अस्मिताकुमारी थारूसँग पाँच सय ५६ मतान्तरले विजयी भइन् ।

वडामा पनि एमाले खुम्चिएको छ । निवर्तमान मेयर रावतले मुक्त कमैया र सुकुमबासीको माग सम्बोधन नगरेका कारण पनि मतदाता कांग्रेसतर्फ आकर्षित भएको स्थानीय विश्लेषण छ ।दोलखाको भीमेश्वर नगरपालिकामा पनि कांग्रेसले एमालेको बर्चस्व तोडेको छ । यसपटक दोलखामा कांग्रेस सबैभन्दा ठूला पार्टी बनेको छ ।

०४९ देखि लगातार मेयर जित्दै आएको नुवाकोटको विदुर नगरपालिका यसपालि एमालेको हातबाट फुत्कियो । मेयरमा कांग्रेस उम्मेदवार राजन श्रेष्ठले एमालेका सञ्जु पण्डितलाई तीन हजार ६ सय ७२ मतान्तरले हराएका हुन् ।

एमालेविरुद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए । उपमेयरमा माओवादीकी प्रभा बोगटीले एमालेकी अम्बिका पौडेललाई आठ सय ६५ मतको अन्तरले पराजित गरेकी छिन् ।

बाग्लुङ नगरपालिकामा एमाले पकड एक–दुई वर्षको होइन, ३० वर्ष पुरानो हो । तर, एमालेको यो साख यसपालि कांग्रेसको काखमा सरेको छ ।पाँचदलीय गठबन्धनले मेयरको उम्मेदवार बनाएका कांग्रेसका वसन्तकुमार श्रेष्ठले एमालेका जनकराज पौडेललाई पाँच हजार आठ सय ५७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

०७४ मा उनै पौडेलसँग दुई हजार दुई सय ९४ मतले हारेका श्रेष्ठले अहिले साटो फेरेका छन् । उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार माओवादीका राजु खड्का विजयी भएका छन् ।एमालेले मुगुको खत्याड गाउँपालिका २५ वर्षपछि गुमाएको छ । ०५४ को स्थानीय निर्वाचनमा खत्याड भेकका सात गाविसका ६३ वटै वडामा एकलौटी जित निकालेको एमाले ०७४ को स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष, उपाध्यक्ष र चार वडामा विजयी भएको थियो । तर, यसपालि तीन वडाको नेतृत्व मात्रै जितेको छ । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय