एमाले ओरालो लागेपछि ओली अहिले मौन व्रतमा

काठमाडौं – एमाले अध्यक्ष केपी ओली अहिले मौन व्रतमा बसेका छन् । स्थानीय निर्वाचनको मौन अवधि सुरु हुनुअघिसम्म ओलीको व्यस्तता निकै थियो । एकैदिन चारवटा जिल्लामा आयोजित चुनावी सभामा गएर भाषण गर्थे ।

तर उनले जहाँ जहाँ गएर हजारौं मानिस भेला पारेर भाषण दिए, तीमध्ये एउटा पनि स्थानीय तहमा एमालेले चुनाव जित्न सकेन । अझ भन्दा ठूला सहरमा एमाले निल नै भएको छ ।सानातिना सहर र गाउँपालिकामा भने एमालेले सुधार गरेको छ । सहरका जनताले आफ्नो पार्टीलाई नपत्याएपछि ओली अहिले चुनावको ‘च’ पनि उच्चारण गर्न चाहँदैनन् ।

चुनावको धपेडी र दौडधूपले विरामी परेका ओलीलाई रुघाखोकी र ज्वरोले ग्रस्त बनायो । उनी चुनावको मतपरिणाम सुरु भएदेखि कतै पनि सार्वजनिक भएनन् ।आइतबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा ओली सहभागी भए । उनले त्यहाँ लामै भाषण गरे । तर, उनले कविता र साहित्यबाहेक राजनीतिक कुनै कुरा उल्लेख गरेनन् ।

एक साताभन्दा पछि सार्वजनिक कार्यक्रममा देखापरेका ओलीले पक्कै पनि केही त राजनीतिक कुरा गर्लान्, चुनावको समीक्षा गर्लान् भन्ने धेरैलाई लागेको थियो ।तर, ओलीले चुनावको ‘च’ पनि उच्चारण नगरेपछि सबै आश्चर्यमा परेका छन् । निर्वाचनअघिसम्म ओलीले एमालेलाई क्विन्टलको ढक र अरुलाई किलोको ढक भन्थे ।

तर, चुनावी परिणामले एमालेलाई दोस्रो पोजिसनमा लगिदिएपछि ओली अहिले मौन व्रतमा बसेका छन् । अबको केही दिनमा सबै स्थानीय तहको मत परिणाम सार्वजनिक भइसक्नेछ ।

त्यसबेलासम्म कुनै औपचारिक धारणा बाहिर नल्याउने ओलीको मनस्थिति रहेको स्रोतले बताएको छ । अहिलेकै अवस्थामा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा गए एमालेको अवस्था कस्तो होला भन्ने कोणबाट बहस सुरु भएको छ । एमालेका एकथरी र माओवादीका एकथरी फेरि पनि कम्युनिस्टबीच एकता गरेर चुनावमा जानुपर्ने बताउन थालेका छन् ।

भित्रभित्रै त्यस्तो खेल सुरु नभएको होइन । तर, सत्तारुढ गठबन्धनमा स्थानीय चुनावबारे समीक्षा नभइसकेकाले के हुन्छ भन्ने भन्न सकिने अवस्था छैन । किनभने सत्तारुढ गठबन्धनमा अबको निर्वाचनमा पनि मिलेरै जानेबारे एकमत छ । – मिडिया डबलीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय