भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा ,रेनु दाहाल जितको नजिक

चितवन । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि विजय हुने सुनिश्चित भएको छ ।

आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ । अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।

भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।

यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पछि परेका छन् । रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । चितवन भरतपुर महानगरपालिका रेनु दाहाल

यो पनि पढ्नुहोस् – सप्तरी । विद्यानन्द चौधरी २५ वर्षकै उमेरमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सप्तरीको छिन्नमस्ता गाउँपालिका अध्यक्षमा चुनाव लडेका उनी २ हजार ८९५ मतका साथ निर्वाचित भए ।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १ हजार ७६६ मत पाए । ‘युवाकै अत्यधिक सहयोगमा निर्वाचित हुन सकेको छु,’ स्नातकोत्तर दोस्रो वर्षमा अध्ययन गर्दै गरेका गाउँपालिका अध्यक्ष चौधरी भन्छन्, ‘मलाई निर्वाचित गराउने यहाँका जनतालाई निराश हुन नदिने किसिमले काम गर्छु ।’

शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट ६ वर्षअघि राजनीति शुरु गरेका उनी गाउँपालिका अध्यक्ष बन्ने परिकल्पना गरेका थिएनन् । ‘अध्यक्ष नै बन्छु जस्तो लागेको थिएन, तर पार्टीले टिकट दिएपछि चुनाव लडें र अध्यक्ष बनें,’ उनले भने ।

चुनौतिका चाङ अध्यक्ष र उपाध्यक्षबीच चलेको द्वन्द्वका कारण पछिल्लो ५ वर्ष छिन्नमस्ता गाउँपालिकामा काम नै हुन सकेको छैन । तत्कालीन अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषा कुमारी मण्डलको विवादका कारण लगातार दुई वर्ष त गाउँसभा नै भएन । समयमा तलव नपाउँदा कर्मचारी पटक–पटक आन्दोलनमा उत्रिए ।

गाउँपालिकाको समस्याबारे जानकार नवनिर्वाचित अध्यक्ष विद्यानन्द भन्छन्, ‘गाउँपालिकाका जनताले स्थानीय सरकारको अनुभूति गर्नै पाएका छैनन्, विकास त केही भएकै छैन ।’

आफ्नो पहिलो प्राथमिकता ट्रयाकभन्दा बाहिर गएको पालिकालाई ट्रयाकमा ल्याउने भएको उनले बताए । ‘त्यसपछि जनताका नियमित सिफारिस लगायतका कामहरुलाई घर–घरमा पुर्याउने, शिक्षा, स्वास्थ्य, पूर्वाधारका काम गर्ने सोच छ,’ उनले भने, ‘जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएका सवाल र जनताले अनुभूति गर्नसक्ने तथा विकासलाई बलियो बनाउन मास्टर प्लान बनाएर काम गर्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय