७३२ पालिकाको नतिजा सार्वजनिक- प्रमुख र उपप्रमुखमा कुन दलको कति सिट ?

काठमाडौं । मुलुकभरका ७५३ स्थानीय तहमध्ये सोमवार साँझ ६ बजेसम्म ७३२ पालिकाको मतगणना सकिँदा नेपाली कांग्रेस ३२१ पालिकाको प्रमुख जितेर पहिलो पार्टी बनेको छ ।

नेकपा एमालेले २ सय स्थानीय तहको प्रमुख जितेर दोस्रो स्थानमा रहँदा माओवादी केन्द्र १२० स्थान जितेर तेस्रो स्थानमा छ । जनता समाजवादी पार्टीले २९ पालिकाका प्रमुख जितेर चौथो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादीले १८ पालिका प्रमुख जितेर पाँचौँ स्थान कायम गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १५ पालिका प्रमुख जितेर छैटौँ स्थान कायम गर्दा राप्रपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले चार-चार पालिका प्रमुख जितेका छन् । जनमत पार्टीले २ पालिका र नेपाल मजदुर किसान पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले पनि एक-एक पालिका प्रमुख जितेर अस्तित्व कायम गरेका छन् ।

उपप्रमुखतर्फ कांग्रेस र एमालेबीच ६५ सिटको फरक छ । कांग्रेसबाट २९५ जना उपप्रमुख जित्दा एमालेका २३० जनाले जितेका छन् । त्यस्तै माओवादी केन्द्रका १२५, जसपाका ३० र नेकपा एसका २२ जनाले उपप्रमुख जितेका छन् ।

त्यस्तै लोसपाका ११ जना र राप्रपाका ३ जनाले उपप्रमुख जित्दा नागरिक उन्मुक्ति पार्टीका पनि ४ जनाले उपप्रमुख जितेका छन् । अब प्रदेश १ मा झापाको मेचीनगर नगरपालिकाको परिणाम आउन बाँकी छ । त्यहाँ नेकपा एमालेको जित निश्चित छ । त्यस्तै उदयपुरको कटारी र त्रियुगा नगरपालिकाको पनि परिणाम आउन बाँकी छ ।

त्यस्तै मधेस प्रदेश अन्तर्गत सिरहाको गोलबजारसहित रौतहट र बाराका केही स्थानीय तहको गणना जारी छ । बाराको पचरौता गाउँपालिकामा पनि गणना जारी छ ।

वीरगन्ज, भरतपुर, काठमाडौं, ललितपुर र पोखरा महानगरपालिकाको मतगणना जारी रहँदा काठमाडौंबाहेक अन्यत्र गठबन्धनको जित निश्चित छ । त्यस्तै जनकपुरमा स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित भएको छ ।

लुम्बिनीमा तुलसीपुर उपमहानगरपालिका एमालेले जित्ने देखिएको छ भने तिलोत्तमासहित रुपन्देहीका तीन पालिकाको गणना जारी छ । सुदूरपश्चिममा अब बाजुराको बुढीगंगामा पुनः मतदान वा मतगणनाको निर्णय बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय